बिराटनगर, जेठ २७ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेका कुनै नेतासँग अनुमति लिइरहनु नपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूको प्रश्नमा भण्डारीले यस्तो जवाफ दिनुभएको हो । उहाँले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताउनु भयो ।
‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, पूर्वराष्ट्रपति भण्डारीले भान्नुभयो, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्यो, भेटघाट गर्दै गर्नुपर्यो, के छ जनताको विचार, आकांक्षाहरू ? नयाँ पुस्ता के चाहन्छन त्यसलाई पूरा गर्न ।’

उहाँले अगाडि भन्नुभयो, ‘मैले सुरुमै भनेँनि राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ- नयाँ पुस्ताका लागि देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’













प्रतिक्रिया दिनुहोस्