जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार १३:०१

वाइसिएल नेतृत्व चयनपछि माओवादीमा खुइल्याउने फेसबुक युद्ध : नेताहरू नै नेतालाई खुइल्याउँदै 


काठमाडौं, २७ जेठ । नेकपा माओवादी केन्द्रको भातृ संगठन ( वाइसिएल) नेपालको नयाँ नेतृत्व चयनपछि माओवादी केन्द्रभित्रको अन्तर्विरोध सतहमा आएको छ ।

पार्टीका केन्द्रीय पदाधिकारी, इञ्चार्ज, वाइसिएल विद्यार्थी संगठनका पदाधिकारी, पूर्वपदाधिकारी र निकट कार्यकर्ताहरूबिच सामाजिक सञ्जालमा नै मुख छाडाछाड सुरु भएको  । नेतृत्व चयन प्रक्रिया पारदर्शी नभएको, सम्मेलनको सर्वोच्चता समाप्त पारिएको, गुटगत चलखेलले यथास्थितिलाई निरन्तरता दिएकोजस्ता गम्भीर आरोपहरू सार्वजनिक रूपमा नेताहरू माथि लागेका छन् ।

सहमतिको नाममा ७५ पदाधिकारी रहेको संसारमा नै नभएको कमिटी बनाएपछि माओवादी नेतृत्व अहिले खिसी र आलोचनाको पात्र बनेको छ । अहिले वाइसीएलको उपाध्यक्षमा २२ जना, उपमहासचिवमा १९ जना र सचिवमा ३१ जना पदाधिकारी सहित ७५ सदस्सीय पदाधिकारी रहेको छ ।

वाइसिएलको नेतृत्व चयन र त्यस पछि नेताहरूबीचको यो भिडन्तले माओवादीभित्रको गहिरो गुटबन्दी, असहिष्णुता र संगठनको बिग्रँदो अनुशासनलाई उजागर गरिदिएको छ । अरूलाई अनुशासनको पाठ सिकाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेता, कार्यकर्तालाई कति अनुशासनमा राख्नु भएको रहेछ भन्ने पुष्टि भएको छ ।

ओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले यो निर्णयले वाइसिएललाई बन्धक बनाएको प्रतिक्रिया जनाउनुभएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ–‘विधान पास गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसिएललाई पनि बन्धक बनाएरै छाड्यो, यसमा वाइसिएलको खासै दोष छैन, यसको जिम्मा लिने र पार्टीको नेतृत्वका कारण कति भिक्टिम भए त्यो त इतिहासको गर्भमै रहला, जे जसरी भए पनि एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाइसिएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उहाँको यो अभिव्यक्ति सार्वजनिक हुनुले माओवादी भित्र कति गुटबन्दी रहेछ भन्ने पुष्टि हुन्छ । त्यति मात्र होइन एउटा पार्टीको केन्द्रीय सदस्य सामाजिक सञ्जालमा यसरी आउनुले माओवादी पार्टी भित्रको अनुशासनलाई पनि देखाउँछ ।

शर्माले नेतृत्व चयनप्रति असहमति प्रकट गर्नु भएको छ । यद्यपि उहाँले अध्यक्ष बनेका पुष्प वलीलाई बधाई दिँदै आफ्नो असन्तुष्टिलाई सम्हाल्ने प्रयास गर्नु भएको देखिन्छ ।तर यो टिप्पणीले संगठनको आन्तरिक निर्णयप्रति प्रश्न उठाएको छ ।

यही टिप्पणीलाई लक्षित गर्दै वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले पनि फेरि सार्वजनिक रूपमा  नै जवाफ दिनु भएको छ । उहाँले लेख्नु भएको छ-‘अनिल जी, फ्याक्सनको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिएँ । (नाताले तपाईँको दाइ) आदरणीय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाइसीएल जस्तो संगठनलाई चुनावमा लैजानु हुँदैन भन्ने सहमति भएको कुरा आएको छ, खास के हो ? अनि तपाईँहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केही जानकारी कसैले गराइदिए हुने थियो, मैले घुइरो घुइरो सुनेको मात्रै हुँ,वाइसीएलमा घुनपुतली नलागेपछि तपाईँ र अन्य आसेपासेले आजबाट सुरु गर्नु भएको प्रचार निन्दनीय छ, यस्ता पानी मरुवा चालहरू चलाउन छोडेर साँच्चै लड्न आउनु हुन्छ भने म माओवादीमा तपाईँका दाइ जहाँ लड्नु हुन्छ त्यही चुनाव लड्न तयार छु ।’

दीपशिखाले स्पष्ट रूपमा जनार्दन शर्मा समूहले नै निर्वाचन नगर्ने निर्णय गर्नु भएको उल्लेख गर्नु भएको छ । उहाँले अनिल शर्मालाई गुटीय आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत गलत प्रचार नगर्न आग्रह गर्नु भएको छ । यसले माओवादी भित्रको गुटबन्दीलाई त प्रस्ट्याएकै छ, पार्टी भित्रको अनुशासन पनि उदाङ्गो भएको छ ।

यही बहसमा अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले दीपशिखाको स्ट्याटसमाथि टिप्पणी गर्दै लेख्नु भएको छ–‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस्, संसद्मा हेर्न मन छ ।’

यो टिप्पणी व्यङ्ग्यात्मक भए पनि राजनीतिक रूपमा गम्भीर सङ्केत बोकेको छ । नेकपा एमालेका नेता महेश बस्नेत सशक्त युवा नेता मानिनु हुन्छ । निर्मलाको टिप्पणीले माओवादी नेताहरूलाई चुनौती दिँदै, जनताबिच लोकप्रिय हुनुहुन्छ भने जितेर देखाउनुस् भन्ने आशय प्रकट गरेको छ ।

फेसबुकमै अर्को चर्को टिप्पणी अनिल शर्मा निकट मानिनु हुने अखिल क्रान्तिकारीका पूर्व सचिव खेम रनपहेलीबाट आएको छ । उहाँले दीपशिखामाथि प्रश्न उठाउँदै लेख्नु भएको छ-‘तपाईँलाई वाइसिएलको कार्यकारी भूमिका दिइएको होइन, हाम्रो पार्टीमा फ्याक्सन इञ्चार्ज कार्यकारी पद होइन, तपाईँको हस्तक्षेप थियो भन्ने केही वाइसिएलका साथीहरूको पनि गुनासो थियो,तपाईँलाई वाइसिएलमा छुट्टै चियरिङ गराउनु पर्ने, वाइसिएल अध्यक्षभन्दा अगाडि तपाईँ उभिनु पर्ने जरुरी थियो ? आखिर वाइसिएल त तपाईँले पनि चलाएकै हो त, दोस्रो कुरा, अखिल (क्रान्तिकारी)मा तपाईँलाई के जिम्मेवारी थियो र ‘संस्थापन’ भन्दै उपत्यका प्रदेशमा भोट माग्नु भयो ? पार्टी संगठनमा तपाईँ पारस हो ? अध्यक्षको नाम भजाएर दादागिरी गर्नु भएको हो ? पार्टी तपाईँको पेवा पनि होइन, दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गर्नु भएको देखिएन र ?’

खेम रनपहेलीको टिप्पणी केवल तीखो मात्रै छैन, यो पार्टी संगठनको अनुशासन, शक्ति सन्तुलन र पारिवारिक सञ्जालको राजनीतिक उपयोगमाथि प्रश्न उठाउने खालको छ । एउटा पार्टीको नेतालाई पारस शाहसँग तुलना गर्नु चानचुने कुरा होइन ।

यी सबै टिप्पणीहरू यथार्थमा माओवादी संगठनभित्रको गहिरो गुटबन्दी, असहिष्णुता र निष्पक्षताको अभावको चिनारी हुन् । वाइसिएल नेतृत्व चयनलाई लिएर उत्पन्न असन्तुष्टिले माओवादी केन्द्रभित्र असन्तुलन मात्र होइन, नेतृत्वमाथिको अविश्वास पनि उजागर गरेको छ ।

पार्टीभित्र लोकतान्त्रिक अभ्यासको दाबी गरिए पनि, व्यवहारमा चुनावको सट्टा सहमतिको नाममा चलखेल हाबी देखिन्छ । सहमतिको प्रक्रियालाई नै संस्थापन समूहले मनपरी ढङ्गले उपयोग गरेको आरोप नेताहरूबाट नै लाग्नु गम्भीर हो ।

फेसबुकमा देखिएको यो विवाद सामाजिक सञ्जालमा मात्र सीमित छै । यसले पार्टीका केन्द्रीय तहदेखि युवा, विद्यार्थी सम्मको विभाजनलाई प्रस्ट पारिदिएको छ । गुटगत स्वार्थ, नेताबिचको भरोसाको अभाव र राजनीतिक संस्कारको क्षयले संगठनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।