जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार १३:३५

त्यसरी जाने कुराले त राजनीति अघि बढनै सक्दैन : सञ्चारमन्त्री गुरुङ


काठमाडौं, जेठ २८ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुरु हुने बताउनु भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आज वा भोलिसम्म बैठक सुरु हुने बताउनु भएको हो । भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

सञ्चारमन्त्री गुरुङले अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पार्नुभयो । उहाँले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने बताउनु भयो ।

‘अहिले संसद् जसरी अवरुद्ध भइरहेको छ, सत्तापक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेको छ । आज सम्भवतः संसद् खुल्न सक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ । हाम्रो उठिरहेका प्रश्नको संसदमा धारणा राख्ने र प्रतिपक्षले संसद् खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ । राजनीति, संसद्लाई कसरी लैजाने भन्ने कुरा सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद् चल्छ ।’

मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने पनि बताउनु भयो ।