काठमाडौं, जेठ २८ । समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरीको एउटा टोली उहाँको धुम्बाराहीस्थित घरमै पुगेको छ ।
काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि भोटाहिटीस्थित साइबर ब्युरोबाट प्रहरीको एउटा टोली बुधबार दिउँसो पाठकको घरसम्मै पुगेको हो ।
मोबाइल फोनसमेत बन्द गरेर बसेका पाठकलाई प्रहरीले घरमा भने भेट्टाएन । घरमा नभेट्टाएपछि प्रहरीको टोली अहिले कार्यालयमा फर्किसकेको छ ।
पाठकलले आफूद्वारा सञ्चालित युट्युब च्यालनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रराष्ट्रमन्त्री आरजु राणा देउवापुत्र जयवीर देउवाको लगानी तथा कारोबारबारे एउटा भिडियो कन्टेन्ट बनाउनु भएको थियो । नक्सालस्थित हिल्टन होटलमा जयवीरको लगानी रहेको दाबीसहित बनाइएको उक्त कन्टेन्टलाई लिएर दिलभूषणविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा साइबर ब्यूरोले पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । सामान्यतया समाचारको विषय नेपाल प्रेस काउन्सिलले हेर्नुपर्ने भए पनि सिधै प्रहरीमार्फत् पत्रकारलाई कारबाही गर्न खोजिएपछि चौतर्फी विरोध भइरहेको छ।
सहयोगको याचना
यसैबीच पाठकले सहयोगको अपेक्षासहित प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघमा घटनाक्रमबारे जानकारी दिँदै सहयोग मागनु भएको छ ।
पाठकले टफ टक विद दिलभूषण पाठक नामको युट्युब च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको जानकारी दुवै संस्थालाई दिनुभएको छ ।
‘त्यसैका आधारमा मलाई खोजी गरिरहेको भन्ने जानकारी विभिन्न सार्वजनिक मिडियाबाट प्राप्त भयो’, पाठकले भन्नुभएको छ, ’तर, सम्बन्धित प्रहरी अधिकारीले भने यसबारेमा न कुनै स्पष्ट जानकारी दिएका छन् न उजुरीबारे केही खुलाएका छन् ।’
पाठकले आफूले प्रशारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला आफूसँग सोध्नुपर्नेमा त्यसो नगरिएको बताउनु भयो।
‘यदि मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो ?’, पाठकले प्रश्न गर्नुभएको छ, ‘काउन्सिल हुँदा हुँदै फौजदारी कानुनमार्फत् किन कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीले उजुरी र आरोपबारे कुनै जानकारी नदिने, एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ।’
पाठकले अहिलेसम्म औपचारिक रुपमा आफूविरुद्ध परेको उजुरी, लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएको पनि बताउनु भएको छ ।
‘यसबारे सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु’, पाठकले भन्नुभएको छ, ‘यससँगै समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्