जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार १८:०२

हामी नेपाल बनाउन भनेर लागेका छौँ, नेपाल बन्ने छ : देवराज घिमिरे 


काठमाडौं, २८ जेठ । सभामुख देवराज घिमिरेले देश बनेन मात्रै भनेर नहुने बताउनुभएको छ ।

हिकारु गौतम फाउण्डेशनको गोताखोर सामग्री हस्तान्तरण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै सभामुख घिमिरेले देश बनाउन प्रण गरेर लाग्नु पर्ने बताउनुभयो । यसरी लाग्ने हो भने देश बन्ने उहाँले स्पष्ट पार्नुभयो । ‘हामी नेपाल बनाउन भनेर लागेका छौँ, नेपाल बन्ने छ, नेपाल बनाउन गाह्रो छैन, सानो मुलुक, प्राकृतिक विविधताले भरिपूर्ण मुलुक, सुन्दरताले युक्त मुलुक, मेहनती र इमानदार नेपालीहरू भएको मुलुक, यसलाई अलिकति तालमेल मिलाएर काम गर्ने हो भने छिट्टै नै गौरवशाली नेपाली हुने छौँ’, उहाँले भन्नुभयो ।

अहिले मध्यमवर्गीय नेपाली युवाहरू पढ्नको लागि विदेश जाने र त्यतै बस्ने प्रवृत्ति भने चिन्ताजनक भएको उहाँले बताउनुभयो । घिमिरेले हिकारु गौतम फाउण्डेसनले अमेरिकामा नै काम गर्न सक्ने भए पनि देशको लागि केही गरौँ भनेर आएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीलाई देशमा केही गर्न सन्देश दिएको उहाँले बताउनुभयो ।

घिमिरेले नेपालले पछिल्लो समय वातावरण परिवर्तनको कारण धेरै जोखिम मोल्न थालेको बताउनुभयो । विपत् आउनु अघि नै बच्ने र आइसके पछि पनि बच्ने कुराको तयारीमा रहनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा अहिले पनि दक्ष गोताखोरको अभाव नै भएको उहाँले बताउनुभयो । पछिल्लो समय सशस्त्र प्रहरी बलले इकाई बनाएर नै काम गरेका भन्दै उहाँले धन्यवाद दिनुभयो ।

२०७७ सालमा अमेरिकाको टेक्सासमा माछा मार्ने क्रममा डुबेर निधन भएका रामेछापका हिकारु गौतमको सम्झनामा स्थापना भएको फाउण्डेसनले उहाँकै स्मृतिमा आज सशस्त्र प्रहरीलाई गोताखोरका सामाग्री हस्तान्तरण गरेको हो ।

उहाँकी बहिनी सोनिया गौतमको अग्रसरतामा ‘गो फन्ड मी’ अभियानमार्फत अमेरिकामा रहेका ३८ जना दाताहरूको सहयोगमा उद्धार सामग्री खरिद गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । ‘दाजु गुमाउँदाको पीडालाई सामाजिक सेवामा बदल्ने हाम्रो प्रयास हो, नेपालमा पानीजन्य विपद्मा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो चाहना हो।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेलले दुःखद पृष्ठभूमिबाट जन्मिएको संस्थाले गरेको सुखद र प्रशंसनीय कार्य भएको बनाउनुभयो । मनसुनमा बाढी पहिरोको जोखिम उच्च रहेको सन्दर्भमा प्राप्त सामग्रीले विपद् प्रतिकार्यमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

फाउण्डेसनले कोभिडकालदेखि नै नेपालका विभिन्न अस्पताल, विद्यालय र समुदायमा सहयोग गर्दै आएको फाउण्डेसनका अध्यक्ष एमाले पोलिटब्युरो सदस्य पूर्व मन्त्री कमल चौलागाईंले जानकारी दिनुभयो । उहाँले यो सहयोग सानो सहयोग भए पनि योसँग भावनात्मक कुरा जोडिएको बताउनुभयो ।