काठमाडौं, २९ जेठ । नेकपा एमालेको स्थायी समितिका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने भनि अफवाहपूर्ण हल्ला चलाइएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले पूर्वराष्ट्रपति भण्डारी केपी शर्मा आलीलेलाई हटाएर गरेर एमाले अध्यक्ष बन्ने भन्ने हल्ला फैलाएर एमालेमा अन्यौलता सिर्जना गर्ने काम भएको बताउनुभयो । राई आफू भण्डारीकै जिल्लावासी र लामो समयसँगै राजनीति गरेकोले धेरै कुरामा भण्डारीसँग संवाद भइरहने बताउनुभयो ।
आफूसँगको संवादमा भण्डारीले हालसम्म पनि सक्रिय राजनीतिमा फर्कने आशय व्यक्त नगरेको राईले बताउनुभयो । ‘आजको मितिसम्म सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदै छु भन्ने कुरा, अझ केपी ओलीलाई रिप्लेस गरेर आउँदै छु भनेको कुरा मैले सुनेको छैन, हामीले सुनेका छैनौँ’, उहाँले भन्नुभयो ।
सक्रिय राजनीतिज्ञ भएको कारणले राष्ट्रियता, अर्थतन्त्र र समसामयिक विषयमा उहाँले चासो राख्नु स्वाभाविक कुरा भएको राईले बताउनुभयो । देशको अभिभावक भइसकेको कारण उहाँले एमाले र अन्य राजनीतिक दललाई सुझाव दिन सक्ने राईले स्पष्ट पार्नुभयो । एमालेलाई चौतर्फी रूपमा घेराबन्दी गरिरहेको बेला, सम्पूर्ण प्रहार केपी ओली र एमाले माथि भइरहेको बेला कार्यकर्ताको मनस्थिति बिथोल्न योजनाबद्ध अफवाह फैलाउने काम भइरहेको र त्यसैको परिणाम अहिलेको दुराशययुक्त प्रचार भएको उहाँले स्पष्ट पार्नुभयो । भोलि पार्टीले आवश्यकता महसुस गरेको अवस्थामा छलफलबाट उहाँ राजनीतिमा आउने कुरा अलग भए पनि अहिले केपी ओलीको विकल्पको रूपमा कुनै कुरा नभएको राईले बताउनुभयो ।
उहाँको कोशी प्रदेश भ्रमणका विषयलाई लिएर अनेक संशय सृजना भएको बताउँदै राईले आफू पार्टीको जिम्मेवार पदमा रहेको र भण्डारी एमालेकै पूर्व उपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपति समेत हुनुभएकोले उहाँलाई स्वागत गर्न जानु आफ्नो दायित्व भएको बताउनुभयो । ‘पूर्वराष्ट्रपतिज्यू कोशी प्रदेशमा आउनुहुँदा हामीले उहाँलाई स्वागत गर्नुपर्थ्यो, हामीले स्वागत पनि गर्यौँ, उहाँ नेकपा एमालेको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिबाट उहाँ देशकै यो उचाइमा पुग्नुभएको हो, उहाँलाई हामीले स्वागत गर्नुपर्थ्यो त्यो गर्यौ’,राईले भन्नुभयो ।
अर्को कार्यक्रम मदन भण्डारी प्रतिष्ठान कोशी र नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम भाग लिन उहाँ झापा आउनु भएको राईले बताउनुभयो । राईले विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्कँदै गरेको अथवा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्न लागेको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्