जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार १४:४५

नेतृत्वलाई हौसला दिनुपर्ने बेला सार्वजनिक खपतका लागि गरिने सस्तो चर्चाले नेतृत्व र पार्टीलाई कमजोर बनाउँछ : विष्णु रिजाल 


काठमाडौं, २९ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक खपतका लागि गरिने सस्ता चर्चाले नेतृत्व र पार्टीलाई कमजोर बनाउने बताउनुभएको छ ।

अहिले पार्टी अप्ठेरो अवस्थामा रहेकोले पार्टी र नेतृत्वलाई सफल बनाउन सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भन्दा बढी सिट भएको पार्टीलाई समेत मिलाएर कठिन अवस्थामा देशको नेतृत्व गरिरहनु भएकोले यस्तो बेला पार्टी एकताबद्ध भएर नेतृत्वलाई जोगाउन लाग्नु पर्ने उहाँको धारणा छ ।

नेतृत्वलाई हौसला दिनु पर्ने र पार्टी निर्माणमा लाग्नु पर्ने बेला विना सन्दर्भको उमेर हद र कार्यकालको बहस उठाउन खोज्नु उपयुक्त नभएको उहाँको धारणा छ । अहिले न महाधिवेशन न नेतृत्व चयनको बेला भएकोले बेमौसमको बाजा बजाउनुको कुनै अर्थ नभएको उहाँले बताउनुभयो ।

एमाले भित्र केही दिन यता केही नेताहरूले पार्टी नेतृत्वमा आउने ७० वर्षको उमेर हद र दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुनु नहुने सार्वजनिक बहस सुरु गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा सक्रियता बढिरहेको बेला यी विषय आउन लागेपछि पार्टी कार्यकर्तामा अन्यौलता बढेको छ ।

‘अध्यक्ष केपी शर्मा ओलीले आफ्नोभन्दा बढी सिट भएको पार्टीलाई समेत मिलाएर कठिन अवस्थामा देशको नेतृत्व गरिरहनुभएको छ, यस्तो बेलामा एकताबद्ध भएर थप हौसला र ऊर्जा सिर्जना गरेर पार्टी निर्माणमा लाग्नुपर्नेमा कुनै सन्दर्भबिना नै उमेर हद र कार्यकालको बहस उठाउन खोज्नु कुनै पनि कोणबाट उपयुक्त छैन, एमालेमा न अहिले महाधिवेशन छ न त नेतृत्व परिवर्तनको कुनै गुञ्जायस नै छ, यस्तो बेलामा सार्वजनिक खपतका लागि गरिने सस्ता चर्चाले नेतृत्व र पार्टीलाई कदापि बलियो बनाउँदैन’, रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।