जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार १७:४०

वीरगञ्जमा न्यायाधीश खुसीराम थारुलाई कार्यकक्षमा नै मोसो छ्यापियो 


काठमाडौं, २९ जेठ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि कार्यकक्षमा मोसो छ्यापिएको छ ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमा नै प्रवेश गरेर न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन् । इजलासभित्रै नारा लगाउँदै उनीहरुले मोसो छेपेको भिडियो सार्वजनिक भएको छ ।

उनीहरूले मोसो छ्याप्दै नेकपा बहुमत जिन्दाबाद , जनताको कर खाने र जनताको विरुद्धमा फैसला गरेकोले कारबाही गरेको बताएका थिए ।

मोसो प्रहार गरे लगत्तै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुम्हाल रहेका बताइएको छ ।

गत जेठ १४ गते रौतहटको राजपुर बम बिस्फोट र ज्युँदा मान्छेलाई इँटा भट्टामा जलाएको आरोप लागि जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाई दिएको भन्दै न्यायाधीश थारुको सार्वजनिक रूपमा आलोचना हुँदै आएको थियो ।

उच्च अदालत वीरगञ्जका न्यायाधीश द्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो ।