काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताउनुभएको छ ।
बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बाल संरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए) द्वारा बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुनुपर्ने स्थिति आउन नहुने बताउनुभयो । ‘म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ, मलाई गाह्रो हुन्छ, म उनीहरू सधैँ मुस्कुराइहुन् भन्ने चाहन्छु’, उहाँले भन्नुभयो ।
सरकारले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेको बताउँदै उहाँले सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि सरकारका प्रयासहरू जारी रहने बताउनुभयो । उहाँले आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको सुनाउनुभयो । आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने ओलीले स्पष्ट पार्नुभयो ।
आफूले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको पनि ओलीले बताउनुभयो । देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा आफू लागिरहेको ओलीले सुनाउनुभयो । ‘सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागि रहेको छ, हामी स्थितिमा फरक ल्याउँछौँ’, उहाँले भन्नुभयो ।
प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १० बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सामूहिक रूपमा चिठी बुझाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्