जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार ०८:४०

उपचारपछि प्रधानमन्त्री ओलीको एक साता : सक्रियतामा आएन कुनै कमी, भए धमाधम नयाँ काम


काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि निवास फर्कनुभएको एक साता बितेको छ । ग्राण्डी अस्पतालमा मृगौलाकोनियमित उपचारपछि निवास फर्केपछि यो एक सातामा सार्वजनिक कार्यक्रममा नगएपनि पार्टीका नेतासँग भेटघाटलाई तीव्रता दिनुभएको छ ।

गत साताको बुधबार र बिहीबार डायलासिसपछि निवासमा फर्केको दोस्रो दिनदेखि नै प्रधानमन्त्री ओली सरकार र पार्टीको बैठक तथा भेटघाटमा सक्रिय सहभागी हुनुभएको छ । निवास फर्केको भोलिपल्ट शुक्रबार नै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग कुराकानी गर्नुभयो । त्यसपछि शनिबार पार्टीको सचिवालय बैठक, राखी छलफलपछि आइतबार मन्त्रिपरिषद्को बैठक राखेर सातवटै प्रदेश प्रमुख हटाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो ।

आइतवार नै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति र प्रदेश प्रमुख पदमुक्त गरिएको थियो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले नियमित काम गरिरहेको जानकारी दिनुभयो । ‘उहाँ आराम पनि गरिरहनु भएको छ, काम पनि गरिरहनुभएको छ। तपाईंहरूलाई थाहै छ एक सातामा के–के काम भएका छन् के के निर्णय भएका छन्। प्रधानमन्त्रीज्यूको सक्रियतामा कुनै कमी आएको छैन,’ अर्यालले भन्नुभयो ।

बिहीवार पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको छ । दाङदेखि कास्कीसम्मको भ्रमण सिध्याएर काठमाडौं आइपुगनुभएका प्रचण्डसँग करिव आधा घण्टा कुराकानी भएको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको छातिमा जमेको पानी सुकेकोले थप डायलाइसिस गर्न नपर्ने जानकारी दिइसकेका छन ।