जनता टाइम्स

२ असार २०८२, सोमबार ०९:४६

सभामुखमाथि टिप्पणी गर्नु अघि आफैँलाई ऐनामा हेर्नु : योगेश भट्टराई


काठमाडौं, २ असार । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सभामुखको भूमिकामाथि उठाइएका आलोचनाहरूको सन्दर्भमा विगतका अभ्यास सम्झन आग्रह गर्नुभएका छ ।

प्रतिनिधि सभाको बैठकमा नाराबाजीका बिच सञ्चालन हुनु राम्रो परम्परा नभए पनि यस्तो अभ्यास पहिला पनि भइसकेको भट्टराईले स्मरण गराउनुभएको छ । ‘विगतका प्रत्येक सभामुखको पालामा कुनै न कुनै दलले बेलमा गएर नारा लगाएकै थिए’, भट्टराईको भनाइ छ, ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एकपटक आफैलाई ऐनामा हेर्ने हो की ? ’

उहाँका अनुसार सभामुखको भूमिकालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्ने प्रवृत्ति  देखिएको छ, जुन खतरनाक अभ्यास हो ।

भट्टराईले बहुलवादी समाज र बहुदलीय व्यवस्थामा हरेक विषयमा सबैको सहमति आवश्यक हुन्छ भन्ने मान्यता व्यवहारिक नभएको तर्क प्रस्तुत गर्नुभएको छ । ‘बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक विषयमा सबैको सहमति हुनै पर्छ भन्ने ग्यारेन्टी कसले गर्न सक्छ ? बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने ? ’ उहाँको भनाइ छ ।

सांसद भट्टराईले संसद् अवरुद्ध गर्ने विषय र सहमतिका आधारहरूबारे गम्भीर बहस आवश्यक भएको उल्लेख गर्दै लेख्नु भएको छ, ‘कुन विषयमा बैठक अवरुद्ध गर्ने? सबैको सहमति कसरी बनाउने ? सहमतिको न्यूनतम आधार के हो भन्ने विषयमा राजनीतिक दलहरूबिच खुला छलफल आवश्यक छ ।’

उहाँले संसद्लाई निष्क्रिय बनाउने अभ्यासप्रति चिन्ता व्यक्त गर्दै अडानका नाममा लोकतान्त्रिक प्रक्रिया बन्धक नबनाउन आग्रह गर्नुभएको छ । ‘आउनुहोस्, छलफल गरौँ, सकेसम्म सबैको स्वीकार्य हुने प्रणाली निर्माण गरौँ, तर अडानका नाममा प्रक्रिया अवरुद्ध नगरौँ,’ उहाँको भनाइ छ ।

संसद् सञ्चालनको जिम्मेवारी साझा हुने भएकाले दोष मात्र सभामुखतर्फ फर्काउने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि प्रकट गर्नुभएको छ । ‘दोषी सभामुख हो कि हाम्रो सामूहिक इगो ?’ भट्टराईले प्रश्न गर्नुभयो ।

उहाँले संसद् सञ्चालन, राजनीतिक दलहरूको भूमिका र लोकतान्त्रिक प्रक्रियाको मर्यादा जोगाउन सबै दल गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।