ललितपुर, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा लगातार अघि बढिरहेको बताउनुभएको छ ।
काठमाडौं चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको शुक्रबार उद्घाटन गर्दै ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा भएको बताउनुभयो । उहाँले अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताउनुभयो ।
ओलीले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ, हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो, तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ, त्यसको उत्खननको सुरुवात पनि मैले नै गरेको थिएँ, धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहने उहाँले बताउनुभयो । यसबाट ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्ने उहाँको धारणा छ । ‘अरू खनिजको पनि उत्खनन गर्नेछौँ, कृषिको आधुनिकीकरण गर्नेछौँ, नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ, हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन, आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ’, उहाँले भन्नुभयो ।
सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने उहाँले बताउनुभयो । उहाँले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताउनुभयो ।
नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा १७ करोड ६ लाख ८८ हजार रुपैँयामा आशिष समानान्तर रेलिगेर जेभीले निर्माण गरेको सो फ्लाइओभर नेपालकै पहिलो हो ।
कुल ५ सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्