दाङ, असार ७ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले जानाजान नमिल्ने हस्ताक्षर गरेर एक ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको तथ्य खुलेको छ । पूर्वमन्त्रीसमेत रहनुभएका सांसद चौधरीले चेक काटदा नै पैसा नतिर्ने योजनाका साथ गलत हस्ताक्षर गरेको प्रमाण भेटिएको हो ।
चौधरीको हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बिश्वास पात्र मेटमणि दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँले रोल्पाका धात बुढा मगरलाई बुढालाई एभरेष्ट बैँक (सांसदले तलब भत्ता बुझ्ने सिंहदरबार भित्रको शाखा) को चेक २०८१ पुस २६ गते हस्ताक्षर गरेर दिनुभएको थियो । तर उक्त चेकमा उहाँले गरेको वास्तविक हस्ताक्षरभन्दा फरक रहेको पाइएको छ । जानाजान हस्ताक्षर बिगारेर आफ्नो पैसा हजम पार्न खोजेको पीडित बुढामगरको भनाई छ ।
अंग्रेजी भाषामा लेखिएको चेकमा अक्षरमा रकम लेख्नुपर्ने ठाउँमा करोड र चालिस लेखिएको पनि स्पष्ट नरहेको पाइएको छ । सांसद चौधरीले बुढामगरलाई दिन चेकमा हस्ताक्षर गरिरहेको देखिने भिडिओ यसअघि नै सार्वजनिक भइसकेको छ । कुनै होटलभित्र खिचिएको यो भिडिओमा मेटमणि र बुढामगरसहित थप दुई व्यक्ति रहनुभएको देखिन्छ ।
तीन पटकसम्म चेक नसाटिएपछि बुढामगरले बैंकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिनुभएको थियो । बुढामगरले सांसद चौधरीविरूद्व प्रहरीमा समेत उजुरी गरिसकेका छन । हुलाकमार्फत उजुरी आएपछि दाङ प्रहरी कानूनी परामर्शमा लागेको छ ।
दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बिहीवार प्रमुख जिल्ला अधिकारी र जिल्ला न्यायाधिवक्तासँग कानूनी परामर्श लिनुभएको हो । परामर्शको क्रममा चेकमा गलत लेखाइ र नक्कली हस्ताक्षर गरी ठगी गर्ने उद्देश्य देखिन आएकाले ठगीको कसुर समेत आकर्षित हुने निष्कर्ष निकालिएको स्रोतले बताएको छ ।
स्रोतको दाबीअनुसार चौधरीले शहरी विकास मन्त्री भएका बेला सेटिङमा विभिन्न ठेक्काको काम दिलाइदिने भन्दै कमिसन बापत बुढासँग पटक पटक गरी ५ करोड ४० लाख रुपैयाँ बैंकिङ माध्यमबाटै लिनुभएको थियो । पैसा लगेर ठेक्का दिलाउन नसकेपछि लफडा सुरू भएको हो ।
ठेक्का पनि नमिलाएको र सांसद चौधरीले तत्काल रकम फिर्ता गर्न नसकेपछि फर्जी हस्ताक्षर गरेर बैंकको चेक दिनुभएको बताइएको छ । चौधरीले शहरी बिकाश मन्त्री रहेकै बखत ठेक्कापट्टा दिलाउने सर्तमा सो रकम लिनुभएको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्