जनता टाइम्स

८ असार २०८२, आईतवार ०३:२८

गाउँपालिकाका पूर्वअध्यक्ष र नापी अधिकृतविरुद्ध पक्राउ पुर्जी


रौतहट, असार ८ । ठगी आरोपमा रौतहटको दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले जिल्ला अदालत रौतहटबाट साहबिरुद्ध पक्राउको अनुमति लिएको हो ।

ठगी आरोपमै प्रहरीले काठमाडौंस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गतको टोखा टोली प्रमुख सञ्जय साह, काठमाडौं नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र छोरा धिरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिएको छ । ईलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीका अनुसार पीडितको उजुरीको आधारमा छानविन अघि बढाउँदा फरार भएकोले पक्राउ पुर्जी लिइएको छ । गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो ।

डिएसपी कार्कीका अनुसार जग्गा बैना गरेर खरिद, बिक्रीमा टोखा नापी प्रमुख साह सहितका मानिसहरु जोडिएका छन । ‘पीडित सन्तोषले जग्गा खरिद गर्न १ करोड १० लाख पैसा जम्मा गरेको देखिन्छ । जग्गा खरिद बिक्रीमा बदनियत देखिएकाले ठगीमा अनुसन्धान अघि बढाएका छौं,’ डिएसपी कार्कीले भन्नुभयो । टोखा नापी प्रमुख साहलाई पक्रन गरुडा प्रहरीले काठमाडौं प्रहरी परिसरलाई पत्र पठाएको छ । नापीका प्रमुख साह असार १५ गतेसम्म बिदामा बसेको नापी कार्यालय डिल्लीबजारले जनाएको छ ।

‘टोली प्रमुख साहविरुद्ध पक्राउ पुर्जी जारी भएको र साहलाई प्रहरी कार्यालय हाजिर हुन भनेर पत्र आएको छ । अहिले बिदामा रहेकोले हामीले जानकारी गराउन पाएका छैनौं । बिदा सकिएर आएपछि उहाँलाई पक्राउ पुर्जीबारे भन्छौ,’ निमित्त प्रमुख प्रकाश ओलीले भन्नुभयो । आफू ठगिएपछि नापी अधिकृत साहबाट साँवा र ब्याज गरी १ करोड ४० लाख फिर्ता गराइदिने भन्दै दुर्गाभगवतीका पूर्वअध्यक्ष साहले १० लाख लिएको भन्दै सन्तोषले गरुडा प्रहरीमा जाहेरी दर्ता गराएपछि पूर्वअध्यक्ष साहमाथि पनि पक्राउ पुर्जी जारी भएको हो ।

रौतहटकै चन्द्रपुरस्थित नापी कार्यालयमा २०७८ मा प्रमुख हुँदा अकुत सम्पति कमाएको आरोप पनि साहमाथि लागेको थियो । तर त्यसमा अनुसन्धान भएको छैन । त्यसै बेला नापी प्रमुख साह र चौधरीबीच चिनजान भएको थियो । त्यसपछि काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको सन्तोषले बताउनुभएको छ ।

सुरुमा सन्तोषले १ करोड १० लाख बैना गरेका थिए । रजिष्ट्रेसन पास गराउन पैसा अपुग भएपछि प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याउनु भएको थियो । उक्त जग्गा २ करोड मूल्यमा किनबेच भएको थियो । उक्त जमिन साहले साझेदार भनिएका चौधरीलाई थाहै नदिई ०८०÷०८१ मा चार कित्ता बनाई चार जनालाई बिक्री गरेपछि ठगीको आरोपमा प्रहरीमा जाहेरी परेको हो । आफ्नो १ करोड २५ लाख खर्च भएको र जमिन आफ्नै नाममा पास गराएर प्रमुख साहले ठगेको सन्तोषको भनाइ छ ।

प्रहरीले जग्गाधनी बिमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि छोरा धिरजलाई पक्राउ गरेको छ । उनलाई एक साताअघि हाजिर जमानीमा छाडिएको छ । गरुडा प्रहरीका अनुसार जमिन खरिद गर्न सन्तोषले जग्गाधनी विमला र उनका छोरा धीरजलाई पटकपटक गरी १ करोड ४ लाख रुपैयाँ बुझाएको देखिन्छ । जमिनमा माटो भर्नेदेखि अन्य काममा पनि आफैंले लगानी गरेको पाइएको छ ।