जनता टाइम्स

८ असार २०८२, आईतवार १३:२०

प्रतिनिधि सभा बैठकमा डा. अमरेशकुमार सिंहको राष्ट्रघाती गम्भीर अभिव्यक्ति 


काठमाडौं, ८ असार । प्रतिनिधि सभामा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहको बारम्बार हुने व्यवहार र अभिव्यक्तिले उहाँ बाह्य शक्तिबाट परिचालित भएको स्पष्ट आभास दिलाउँछ ।

आइतबार उहाँको टिप्पणी त्यसकै निरन्तरात जस्तै दोहोरियो । उहाँले संसद्को रोष्टममा नै उभिएर नेपालका ७२ जिल्ला अमेरिका चीन वा भारतलाई लिजमा दिनु पर्ने अति गैरजिम्मेवार राष्ट्रघाती अभिव्यक्ति दिनुभयो । बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिन जानु भएका सिंहले नेपालका ४/५ जिल्ला बाहेक अरू जिल्लामा बजेट नपरेको भन्दै ती जिल्लालाई लिजमा दिन प्रस्ताव गर्नुभयो । ‘बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? बाँकी ७२ जिल्ला चीन, अमेरिका वा भारतलाई लिजमा दिए हुन्छ’, सिंहले भन्नुभयो ।

उहाँको अभिव्यक्ति पछि संसदमा तीव्र विरोध भएको थियो । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सिंहको अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै आपत्ति जनाउनुभयो । उहाँको अभिव्यक्ति विरुद्ध सांसदहरूले आपत्ति जनाउनुभएको थियो ।

सभामुखले सिंहको अभिव्यक्तिलाई तत्काल संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सभामुखले सिंहलाई निर्धारित विषयमा नबोल्ने भए रोष्टम छाड्न निर्देशन दिनुभएको थियो ।