जनता टाइम्स

८ असार २०८२, आईतवार १३:३९

देश लिजमा दिनु पर्ने डा. अमरेश कुमारको राष्ट्रघाती अभिव्यक्ति प्रति एमालेको कडा आपत्ति 


काठमाडौं, ८ असार । प्रतिनिधि सभामा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहको देशका ७२ जिल्ला अमेरिका, भारत र चीनलाई लिजमा दिनु पर्ने राष्ट्रघाती अभिव्यक्तिका नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा सिंहले दिनुभएको सो अभिव्यक्त प्रति नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै कडा प्रतिवाद गर्नुभएको हो । सिंहले असाध्यै आपत्तिजनक विषय राख्नु भएको उहाँको भनाइ छ । ‘संसद्को रोष्टमबाट दिइएको यो अभिव्यक्ति अत्यन्त आपत्तिजनक, राष्ट्र विरोधी अभिव्यक्ति हो, राष्ट्रघाती विषय हो’, बर्तौलाले भन्नुभयो ।

उहाँले यो नियमापत्तिको विषयमा मात्र नभएर कारबाहीको विषय समेत भएको बताउनुभयो । सिंहका यस अघिका अभिव्यक्ति पनि राष्ट्र र राष्ट्रियता विरुद्ध यसै गरी आउने भएकोले उहाँलाई शङ्काको घेरामा राख्नु पर्ने बर्तौलाको माग छ । ‘उहाँलाई थप बोल्न दिने विषयमा पनि सचेत गराइनु पर्छ, उहाँको अभिव्यक्ति बेठिक छ, राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ’, उहाँले भन्नुभयो ।

बर्तौलाको नियमापत्ति पछि सिंहको सो अभिव्यक्तिलाई असंसदीय र राष्ट्र माथि प्रश्न खडा हुने भाषा भएको भन्दै सभामुखले रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो । सो क्रममा सिंहले सभामुख माथि समेत विभिन्न आरोप लगाउनुभएको थियो । सभामुखले विषय केन्द्रित भएर नबोल्ने हो भने सिंहलाई राेष्टम छाड्न समेत  निर्देशन दिनुभएको थियो ।