जनता टाइम्स

९ असार २०८२, सोमबार ११:४१

राप्रपासँगै रास्वपाद्वारा पनि सदन बहिष्कार


काठमाडौं, ९ असार । भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको संलग्नता रहेकोले छानबिन समिति गठन गर्नुपर्ने भन्दै आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।

यस अघि संसद् भित्रै नारा लगाएर बस्ने रास्वपाका सांसदहरूले आज बैठक सुरु भएपछि सदन बहिष्कार गरेका हुन्। सभामुखले बैठक सुरु गर्ने बित्तिकै सो पार्टीका सांसदहरू उठेपछि सभामुखले शिव नेपालीलाई बोल्ने समय दिनुभएको थियो । उहाँले आफ्ना माग यथावत् रहेका र आन्दोलन जारी रहेकाले बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएको छ । नेपालीले धारणा राखेपछि रास्वपाका सांसदहरू संसदबाट बाहिरिएका थिए ।

रास्वपा र राप्रपाले लेखकको राजीनामासँगै संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका छन्। तर सरकारले एक महिना भित्र छानबिन समिति बनाउने बताउँदै आएको छ ।

गृह मन्त्री लेखकले आफूलाई दोषी ठहराउने कुनै प्रमाण नरहेको दाबी गर्दै आउनुभएको छ । दुई दलले सदन बहिष्कार गरेका भए पनि संसद् बैठक जारी छ । अजाको बैठकमा मन्त्रालयको बजेट र कार्यक्रमका सवालमा सांसदहरूले सोधेको प्रश्नको मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।