जनता टाइम्स

१० असार २०८२, मंगलवार १०:२०

रामेछापकी चेली नेपाली रेसलर भगवती खड्का (युनिका) लाई पाकिस्तानमा ऐतिहासिक सफलता


रामेछाप, १० असार । रामेछापकी चेली नेपाली महिला रेसलर भगवती खड्का युनिकाले पाकिस्तानमा सम्पन्न आरइडब्लु रेस्लिङ प्रतियोगिताको महिला सिंगल्स उपाधि जितेकी छन्।

कराँचीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले पाकिस्तानकी चर्चित रेसलर बेगिसालाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएकी हुन्। २०६९ सालदेखि रेस्लिङमा सक्रिय भगवतीले यसअघि स्वदेश र विदेशमा गरी करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरिसकेकी छन्। निरन्तर मेहनत र लगावका कारण उनले नेपाली महिला रेस्लिङमा छुट्टै पहिचान बनाउँदै आएकी छन्।

उनको योगदान र उपलब्धिलाई अन्तर्राष्ट्रिय रूपमा समेत मान्यता दिइएको छ। वर्ल्ड बुक अफ रेकर्डस्, लण्डनमा उनको नाम समावेश गरिएको छ, जुन नेपाली खेल क्षेत्रमा महिलाबाट प्राप्त उल्लेखनीय सफलतामध्ये एक मानिन्छ।

रेस्लिङजस्तो शारीरिक क्षमतामा आधारित खेलमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीले प्रदर्शन गर्नु गौरवको विषय हो। रामेछापको मन्थली नगरपालिका–१२ की भगवतीको यो जितले नेपाली महिला खेलाडीहरूलाई नयाँ प्रेरणा दिने विश्वास लिइएको छ।