काठमाडौं, १० असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको दाेस्राे पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै सान्दर्भिक भइसकेका राजावादीहरूले एमाले माथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको उहाँले दाबी गर्नुभयो । यो कुरा नयाँ पुस्तालाई बुझाउनु पर्ने र त्यो काम राष्ट्रिय युवा संघ नेपालले गर्ने सक्ने उहाँको धारणा छ । यसले परिवर्तनको अभियानमा युवालाई जोड्न सकिने पोखरेलले बताउनुभयो ।
एमालेलाई आफूलाई कम्युनिष्ट भन्ने माओवादी, समाजवादी लगायत पनि लागेका पोखरेलले बताउनुभयो । ‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई मन पराउने जनताको ठुलो हिस्सा छ, त्यो हिस्सा एमालेसँग छ, त्यसैले एमालेलाई कमजोर बनाउँदा मात्र हाम्रो भविष्य बन्दछ भन्ने मान्यताका आधारमा उनीहरूले हाम्रो विरुद्ध प्रहार केन्द्रित गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
नेकपा एमाले र नेपाली कांग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएकाले छटपटिएका उहाँले बताउनुभयो । भविष्य अन्धकार भएकाहरूले आफ्नो भविष्य खोजीका लागि एमाले माथि आक्रमणमा उत्रिएका उहाँले स्पष्ट पार्नुभयो । ‘चरम अवसरवादी चरित्र बोकेका माओवादी र समाजवादी एमालेको विकल्प बन्न सक्दैनन्’, उहाँले भन्नुभयो ।
एमालेको सामना गर्न नसकेपछि अहिले माओवादी समाजवादीले एमाले माथि सामाजिक सञ्जाल मार्फत हमलाको रणनीति लिएका उहाँले बताउनुभयो । यसलाई बुझेर एमाले अघि बढ्नु पर्ने पोखरेलको धारणा छ ।
वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्व विरुद्ध केन्द्रित रहेका उहाँले बताउनुभयो । आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका उहाँले बताउनुभयो । आफ्नो लागि जे पनि गर्ने र जस्तोसुकै हरकत गर्न पनि पछि नहट्नेहरू एमालेका विरुद्ध उत्रिएका उहाँले बताउनुभयो ।
जान्नेलाई छान्ने भन्ने पार्टीका नेता नै आपराधिक मनोवृत्तिका भएका उहाँले बताउनुभयो । सांस्कृतिक, सामाजिक र कानुनी मूल्य र मान्यता समेत नबुझेका मानिसलाई जान्ने भनेर नेता बनाएर हिँड्नेहरूका नेता अहिले न्यायिक हिरासतमा रहेका उहाँले स्मरण गराउनुभयो । ‘एउटा सहकारीबाट ल्याएको भए झुक्किन सकिन्छ, ६ वटा सहकारीबाट रकम ल्याएर, सहकारी डुबाएर उनी न्यायिक हिरासतमा छन्, अझै पनि युवाका सामु भन्दै छन्, हाम्रा अभियान जारी छ, जान्नेलाई छान्ने अभियान जारी छ’, उहाँले भन्नुभयो ।
राजनीति सिद्धान्त, संगठन प्रणाली र भविष्यको दृष्टिकोणमा आधारित हुने उहाँले बताउनुभयो । वर्तमानमा खेलेर लोकप्रिय हुने सपना देख्नेहरूको सपना एमालेले उडाइदिएको कारण उनीहरू एमालेका विरुद्ध आक्रामक बनेका पोखरेलले बताउनुभयो । ‘हामीले सही काम गरेका छौँ, त्यस अर्थमा हामी माथि प्रहार भइरहेको छ’, पोखरेलले भन्नुभयो ।
नेपालमा कठपुतली बनाउन खोज्ने बाह्य शक्तिले पनि एमाले र त्यसको नेतृत्व विरुद्ध आक्रमण गरिरहेका उहाँले बताउनुभयो । ‘उनीहरूलाई पीडा छ, नेपाललाई बफर जोन बनाउन नपाएकोमा’, उहाँले भन्नुभयो ।
अहिले कांग्रेस एमालेको सरकार चलिरहेको भए पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो । तहसनहस भएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेकोले अब देश विकासले गति लिने पोखरेलले दाबी गर्नुभयो ।
पोखरेलले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नदेखिने दाबी गर्नुभयो । तर एमाले माथि नै आरोप र हमला हुने गरेको उहाँले बताउनुभयो । एमाले माथि लगाइएका कुनै पनि आरोप छानबिन गर्दा प्रमाणित नभएका उहाँले स्पष्ट पार्नुभयो । जसले हल्ला गर्छ उनीहरूकै मान्छे ती घटनामा संलग्न हुने अध्ययनले देखाएका पोखरेलले दाबी गर्नुभयो । ‘बेतुकका कुरालाई सामाजिक सञ्जालमा ल्याएर हाम्रो पार्टी नेतृत्वलाई बदनाम गराउने प्रयत्न भइरहेको छ’, उहाँले भन्नुभयो ।
उहाँले माओवादीको सेटिङमा अवैध सुनको कारोबार भएको दाबी गर्नुभयो । माओवादी सरकारमा हुँदा भएको सुन तस्करीले पैसा नभएर बैङ्कहरू नै टाट पल्टने स्थिति आएको बताउनुभयो । ‘जब त्यो रोकियो, त्यस पछि बैङ्कमा चेक जम्मा हुन लाग्यो’, पोखरेलले भन्नुभयो ।
अहिले सामाजिक सञ्जाल भ्रम र घृणाबाट निर्देशित भएको पोखरेलले बताउनुभयो । सामाजिक सञ्जालमा गलत मानिसहरूको सक्रियताको कारण सामाजिक सञ्जाल नै खराब बनेको पोखरेलको धारणा छ । उहाँले युवालाई सामाजिक सञ्जालमा सकारात्मक र प्रभाकारी हुन आग्रह गर्नुभयो । यसो गर्न सकियो भने सामाजिक सञ्जाल सकारात्मक कुरा प्रवाह गर्ने माध्यम बन्नेमा पोखरेलले जोड दिनुभयो । पोखरेलले राष्ट्रिय युवा संघका युवालाई भ्रमका पछि होइन तथ्य खोज्न आग्रह गर्नुभयो ।
पोखरेलले पार्टीमा संगठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यी दुईवटा प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने पोखरेलले बताउनुभयो । ‘अवसरवादबाट हामीले आफूलाई मुक्त गर्न सक्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
संगठनात्मक अराजकताले गुटबन्दी बढाउने र त्यसले पार्टीलाई कमजाेर बनाउने पोखरेलले बताउनुभयो । ‘पार्टीमा अनुशासन कायम गर्ने पर्छ, संगठनलाई बलियो बनाउन आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।
देश बाहिर जाने कुरा बाध्यता मात्र नभएर कतिपयको रहर पनि भएको बताउँदै पोखरेलले परम्परागत कृषिलाई व्यावसायिक बनाउन नसक्दा पनि विदेश पलायन बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्