जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार १३:५८

भारतबिरुद्ध आन्दोलन चर्काउन देउवाको निर्देशन


काठमाडौं, कात्तिक २३ । कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलनलाई थप सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आफ्नै निवासमा बोलाएर भारतले कालापानी–लिपुलेकसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विरोधमा भइरहेको आन्दोलन जारी राखेर थप सशक्त पार्न देउवाले पार्टी निकट बिद्यार्थीलाई निर्देशन दिनुभएको हो ।

सभापति देउवाले आज लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग बूढानीलकण्ठस्थित निवासमा भेटनुभएको थियो । भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिनुभयो ।
‘शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना अन्तर्गत रहेर काम गर्न निर्देशन दिनुभयो,’ अर्यालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी पनि गराउनुभएको थियो । भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । सो नक्सा सच्याउन र अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग गर्दै देशभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू सडकमै आइसकेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघ पनि भारतको सो कदमबिरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । दुवै संगठनले गो ब्याक इण्डियाको नारा घन्काएका छन ।