जनता टाइम्स

२१ असार २०८२, शनिबार १३:०३

नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि


काठमाडौं, २१ असार । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए ।एक समय ४०-१ को अवस्थामा रहेको नेपालले निरन्तर विकेट गुमाउँदा ५८-५ को अवस्थामा पुगेको थियो । त्यसपछि जोय र शुभम खनाल मिलेर साझेदारी बनाएका थिए ।नेपालको स्कोर ९१-६ हुँदा शुभम १६ रनमा आउट भएपछि फेरि नेपाल ९२-८ को अवस्थामा पुग्यो । त्यहाँबाट जोयले लगातार तीन चौका पनि प्रहार गर्दै अभय यादवसँग मिलेर साझेदारी बनाए। अभयले विजयी छक्का नै प्रहार गरे ।
सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट लिएपनि टोलीको जितको लागि भने पर्याप्त भएन । युवान पाण्डेले २ विकेट लिए । आकाश तेजा र वेदांश गुप्ताले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०-५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।

सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।