चितवन, २५ असार । कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ । कारागारमा रहेका २२ जनामा समस्या देखिएपछि उपचार सुरु गरिएको हो । कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार गरिएको छ । मौसममा आएको परिवर्तनसँगै वर्षात्का कारण समस्या देखिएको उहाँले बताउनुभयो । सङ्क्रमित बिरामी, क्षयरोगीलगायत स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई छट्टै राखेर उपचार गर्ने गरिएको ढुङ्गानाले बताउनुभयो ।
कारागार कार्यालयमा रोग फैलन नदिनका लागि उच्च सतर्कता अपनाइएको बताउँदै उहाँले कैदीबन्दीलाई सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरिएको उल्लेख गर्नुभयो । क्षमताभन्दा बढी कैदीबन्दी हुनु, मौसममा आएको परिवर्तनसँगै महामारी फैलनसक्ने भएकाले आवश्यक सुरक्षाका लागि सावधानी अपनाउन भनिएको हो । उहाँका अनुसार कारागारमा अहिले ७१६ जना कैदीबन्दी र चार जना आश्रित बालबालिका छन् । कारागारमा ३५ महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ महिला र ६७३ जना पुरुष कैदीबन्दी छन् ।
प्रतिक्रिया दिनुहोस्