जनता टाइम्स

२६ असार २०८२, बिहीबार १७:५५

सूचना प्रविधिको तीव्र विकासले सांस्कृतिक मूल्य भत्काइरहेको छ : भानुभक्त ढकाल


काठमाडौं, २६ असार ।  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पछिल्लो समय सूचना प्रविधिको तीव्र विकासले नेपाली समाजका गहिरा मूल्य, मान्यता, संस्कार र संस्कृतिमा गम्भीर असर परेको बताउनुभयो।

नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले सांस्कृतिक र पारिवारिक परम्पराहरू क्रमशः कमजोर बन्दै गइरहेको उल्लेख गर्नुभयो।  ‘समाजमा तीव्र प्रविधि विकाससँगै हाम्रो मौलिकता, अनुशासन र गुरु–चेला सम्बन्धमा आएको विचलन चिन्ताजनक छ’ यस्ता मूल्य मान्यताको संरक्षण र प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता हाे’, उहाँले भन्नुभयो।

पूर्वीय दर्शनमा गुरु र चेलाको सम्बन्ध अनुशासन, श्रद्धा र ज्ञानको आधारमा रहेको उल्लेख गर्दै उहाँले वर्तमान पुस्तामा तिनको कमी देखिन थालेको बताउनुभयो। नेताको भाषणभन्दा सामाजिक जागरणको गीतले जनमानसमा प्रभाव पार्न भन्दै उहाँले भन्नुभयो, ‘सामाजिक रूपान्तरणमा कला, साहित्य र संस्कृतिको भूमिका अझै प्रभावकारी हुनसक्छ।’

उहाँले नेपालमा कम्युनिष्ट आन्दोलन स्थापित गर्न सांस्कृतिक माध्यमहरू प्रभावशाली अस्त्रका रूपमा प्रयोग गरिएको स्मरण गराउनुभयो। साथै, महिलालाई नेतृत्व तहमा लैजान नेकपा (एमाले) को प्रयास सकारात्मक रहेको र महिलाहरू आफैँ पनि अगाडि सर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सभ्य समाज अनुशासनमा आधारित हुने बताउँदै अनियन्त्रित स्वतन्त्रता अराजकतामा परिणत हुन सक्ने चेतावनी दिनुभयो। ‘गुरु–चेला परम्परा नेपाली समाजको अमूल्य धरोहर हो, तर पछिल्लो समय यसप्रति विश्वास घटेको देखिन्छ’,  उहाँले भन्नुभयो ।

गुरु बन्नका लागि पनि आदर्श गुणहरू आवश्यक पर्ने उल्लेख गर्दै उहाँले मूल्य, नैतिकता र व्यवहारको जगमा उभिएको परम्परागत शिक्षालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। समाजमा अग्रजको अनुभव ग्रहण गर्ने संस्कारको पुनर्जागरणले भावी पुस्तामा ज्ञान र अनुशासनको प्रवाह सम्भव हुने उहाँले बताउनुभयाे ।

कार्यक्रममा नेपाल जनसांस्कृतिक महासंघकी अध्यक्ष भूमिका सुब्बा लिम्बूले महिला विभागद्वारा आयोजना गरिएको कार्यक्रममा पुरानो परम्परालाई निरन्तरता दिइएकोमा सन्तोष व्यक्त गर्नुभयो। उहाँले गुरु पूर्णिमाजस्ता संस्कारहरूलाई नयाँ पुस्तासँग जोड्ने प्रयासको प्रशंसा गर्नुभयो।

कार्यक्रममा वरिष्ठ संगीतकार श्रीराम आचार्यलाई सम्मान गरिएको थियो भने चित्रकला क्षेत्रमा उत्कृष्टता देखाएका पाँच जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा सवनम मुखियाद्वारा निर्माण गरिएको सामाजिक सन्देशमूलक डकुमेन्ट्री ‘डियर अफ फियर (डरको आँशु)’ पनि प्रदर्शन गरिएको थियो।