काठमाडौं, २८ असार । साफ यु–२० महिला फुटबल प्रतियोगिताको पहिलो खेलमै नेपालले दमदार प्रदर्शन गर्दै भुटानमाथि ६–१ को फराकिलो जित हात पारेको छ। बङ्गलादेशको ढाकामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको यो शानदार जितले समूह चरणको दौडमा बलियो सङ्केत दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला खेलाडीहरूलाई बधाई दिँदै यो जितलाई ऐतिहासिक सफलता भन्दै प्रशंसा गर्नु भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘साफ यु–२० उमन्स कपमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई १ नेपाली छोरीहरूको गौरवशाली प्रदर्शनलाई देशभरि उत्साहपूर्वक स्वागत गरिएको छ।’
ढाकास्थित बिएसएसएस मोहनागार मैदानमा शुक्रबार भएको खेलमा नेपाली टोलीले सुरुदेखि नै आक्रामक फुटबल प्रदर्शन गर्यो। पहिलो हाफमै तीन गोल गरेपछि नेपालले खेललाई नियन्त्रणमा लिएको थियो। दोस्रो हाफमा थप तीन गोल गर्दै नेपालले जित सुनिश्चित गर्यो।
नेपालका लागि स्ट्राइकर अस्मिता खड्काले दुई गोल गर्दै शानदार प्रदर्शन गरिन् भने अनुजा मगर, प्रेमा राई, रिमा थापा र सरस्वती चौधरीले समान एक–एक गोल गरेका थिए।
भुटानले दोस्रो हाफमा एक मात्र सान्त्वना गोल फर्काउन सकेको थियो। नेपालको डिफेन्सले समग्रमा बलियो समन्वय देखायो भने मिडफिल्ड र फारवर्ड लाइनले उच्च स्तरको प्रेसिङ शैली अवलम्बन गरे।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘टोलीले योजना अनुसारको खेल देखायो, हामीले आक्रामक रणनीति अपनाएका थियौ, र त्यसले काम गर्यो, पहिलो खेलमै यस्तो नतिजा उत्साहजनक हो तर हाम्रो लक्ष्य उपाधि हो।’
उहाँले थप्नुभयो, ‘यो प्रतियोगिता युवतीहरूको अनुभवको थलो हो। यिनै खेलाडीहरूमध्ये भविष्यमा राष्ट्रिय सिनियर टोलीमा पुग्नेहरूको सङ्ख्या धेरै हुने आशा छ।’
नेपालको महिला फुटबल इतिहासमा युवा तहका प्रतियोगिताहरूमा प्राप्त सफलताले दीर्घकालीन रूपमा राष्ट्रिय फुटबलको संरचना बलियो हुँदै गएको सङ्केत गर्छ। साफस्तरका प्रतियोगितामा अघिल्ला वर्षहरू मासमेत नेपाली युवतीहरूले सशक्त उपस्थिति जनाउँदै आएका छन्।
२०७९ सालमा भारतमा भएको साफ यु–१८ महिला प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो। त्यसका केही खेलाडीहरू अहिले यु–२० टोलीमा समावेश छन्। यसको अर्थ, नेपालको महिला फुटबलको विकासलाई निरन्तरता दिइएको छ।













प्रतिक्रिया दिनुहोस्