जनता टाइम्स

२८ असार २०८२, शनिबार १६:५०

प्रधानमन्त्रीद्वारा माई नगर अस्पताल उद्घाटन, १७६ परिवारलाई जग्गा धनीपूर्जा वितरण


इलाम, २८ असार ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज इलामको माई नगरपालिकामा निर्माण सम्पन्न १५ शैय्याको नगर अस्पतालको उद्घाटन गर्नुभएको छ ।

इलामको शितलीस्थित सो अस्पतालको उद्घाटनसँगै उहाँले अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण र बृहत् खानेपानी आयोजना शिलान्यास समेत गर्नुभएको छ ।

कार्यक्रममा माई नगरपालिकाभित्रका १ सय ७६ अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीचको समन्वयबाट विकास निर्माणका कामहरू अगाडि बढिरहेको उल्लेख गर्दै स्थानीयस्तरका समस्याको समाधानमा अझ सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय जनतालाई आधुनिक प्रविधि र व्यवसायिक दृष्टिकोण अपनाएर उत्पादन, खेतीपाती र बजार विस्तारतर्फ उन्मुख हुन आग्रह गर्नुभयो । ‘मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकाले भौतिक पहुँचसँगै आर्थिक विकासको अवसर पनि आएको छ,’ उहाँले भन्नुभयो, ‘अब आधुनिक खेती, व्यापार र रोजगारीको गन्तव्य माई नगरपालिका बन्नसक्छ ।’

कार्यक्रममा माई नगरपालिकाका नगरप्रमुख खम्बा सिंह लिम्बूले प्रधानमन्त्री ओलीलाई नगरको विकास र आवश्यकता समेटिएको मागपत्र हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीको यो भ्रमणले पूर्वी इलाममा सरकारको पूर्वाधार र नागरिक पहिचानसम्बन्धी पहुँच विस्तारमा सकारात्मक सन्देश दिएको स्थानीय नागरिकको भनाइ छ ।