झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता सहयात्रा आउने निर्वाचनसम्म यथावत् रहने बताउनुभएको छ ।
शनिबार झापाको कनकाई नगरपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्दै ओलीले अहिलेको सत्ता गठबन्धन ढुक्कले आगामी निर्वाचन २०८४ सम्म जाने बताउँदै सबैलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । ‘सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराउन्, सरकारको एक वर्ष बितिसक्यो, अर्को एक वर्ष म प्रधानमन्त्री हुनेछु, त्यसपछि हाम्रो सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिनेछ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास जनताले अनुभूत गरिरहेका र अझ ठुलो परिवर्तनका लागि सरकार क्रियाशील रहेको दाबी गर्नुभयो । ओलीले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले स्वामित्वसहित जग्गा पाउनु ठुलो उपलब्धि भएको भन्दै खुसी व्यक्त गर्नुभयो।

उहाँले सरकार स्थिरताका साथ अघि बढिरहेको र मुलुकमा विकास, समृद्धि र जनताको समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो। भूमिसम्बन्धी सबै समस्या समाधानका लागि चाँडै कानुन पारित गरिने जानकारी दिँदै उहाँले व्यावसायिक खेतीका लागि चाक्ला जमिन व्यवस्थापन गरी उत्पादनमूलक काममा लाग्न आग्रह गर्नुभयो।
भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाद्वारा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका २ सय जनालाई जग्गाधनीपूर्जा वितरण गरिएको छ ।
कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिमसम्मका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा वितरण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार आयोगले प्रमाणसहितका व्यक्तिहरूलाई व्यवस्थित गरी जग्गाको स्वामित्व दिने कार्यलाई तीव्रता दिइरहेको छ।













प्रतिक्रिया दिनुहोस्