जनता टाइम्स

२९ असार २०८२, आईतवार १२:२५

स्पेनमा मान्छे छाडेर आयो भन्ने  झुटा र घटिया प्रचारको जवाफ दिन आवश्यक छैन : प्रधानमन्त्री केपी ओली 


झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकामा सम्पन्न ‘मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना’ को उद्घाटन गर्नुभएको छ । सडक उद्घाटन गर्दै उहाँले देशभर विकास निर्माणको लहर तीव्र बनाउने सरकारको प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।

विश्व बैङ्कको सहयोगमा सम्पन्न, दमक नगरपालिकाको गौरवको आयोजना मानिएको साे सडक १७ उत्कृष्ट परियोजनामध्ये एक हो। ४.८६ किलोमिटर लम्बाइको सडकको लागत ४४ करोड २४ लाख रुपैयाँ रहेको छ। आयोजनाको निर्माण कार्य तोकिएको समयमै सम्पन्न भएको हो।

कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले देशभर विकासको लहर ल्याउने क्रममा यो सडक पनि महत्त्वपूर्ण रहेकाे बताउनुभयाे। उहाँले दमकको बेलडाँगी क्षेत्रमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गर्नुभयो। ‘हामीले मेचीदेखि महाकालीसम्म थालेका काम सक्ने अठोट लिएका छौँ’, उहाँले भन्नुभयाे ।

प्रधानमन्त्री ओलीले पछिल्लो पटक स्पेन भ्रमणपछि सामाजिक सञ्जालमा भइरहेको आलोचना र अफवाहकाे प्रतिवाद  गर्नुभयाे । ‘स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरिएकाे छ, यस्ता प्रचारकाे जवाफ दिइरहन आवश्यक छैन, भ्रमण पूर्ण रूपमा सफल भयो,  ‘केही विरोधी र अराजक तत्त्वहरू अरू केही कुरो नपाएर, झुटा र घटिया प्रचार गरिरहेका छन्, यस्ता प्रचारको जवाफ दिन आवश्यक छैन’, उहाँले भन्नुभयाे ।

 

प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा सुधार ल्याउने सरकारको प्रयासबारे जानकारी दिँदै स्वयंसेवी भावनाका साथ सञ्चालित निःशुल्क अनलाइन कक्षाका कारण यस वर्ष एसइईको नतिजामा १३ प्रतिशतले सुधार आएको बताउनुभयाे ।

उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, उद्धव थापा, लगायत जनप्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो।

सडक स्तरोन्नतिले दमकको भौगोलिक पहुँचमा सुधार ल्याउनुका साथै स्थानीय आर्थिक र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।