काठमाडौं, ३० असार । नेकपा एमाले केन्द्रीय सदस्य एव संंगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टी भित्र नेतृत्वको बहसभन्दा पहिले नीति, योजना र विधिको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
पार्टीको विधान महाधिवेशनको मुखमा नेतृत्वको बहस चलेपछि उहाँले अहिलेको ध्यान विधान महाधिवेशनमा केन्द्रित हुनु पर्ने स्पष्ट पार्नुभएको हो । उहाँका अनुसार पार्टी हाल विधान महाधिवेशनको तयारीमा जुटिरहेको छ, जसले आगामी सांगठनिक रूपरेखा र कार्यदिशा तय गर्नेछ।
अहिले पार्टीको नीति र कार्यक्रमका बारेमा छलफल गर्नुपर्ने बताउँदै उहाँले नेतृत्वको बहस विधान महाधिवेशन पछि गर्न सुझाव दिनुभएको छ । ‘पार्टी नीति, योजना र विधि निर्माणका लागि विधान महाधिवेशनको तयारीमा जुटिएको छ,नेतृत्वको विषयमा बहस विधान महाधिवेशनपछि गरौँला’, उहाँले भन्नुभयो ।
नेतृत्वभन्दा नीति माथि हुने बताउँदै नीति बलियो बनाउनेमा ध्यान जानुपर्ने उहाँको जोड छ ।
ढुङ्गेलले अब हालको विधानको बहस होइन आगामी रणनीतिक परिप्रेक्ष्यमा आधारित बहसको आवश्यकता रहेको औँल्याउनुभएको छ । उहाँले भन्नुभयो, ‘२०७८ सालमा छापिएको विधानको बहस गर्नु भन्दा २०८२ को विधानमा के हुनु पर्छ भन्ने विषयमा बहस गरौँ न ।’
ढुङ्गेलको यो अभिव्यक्ति एमाले भित्र नीतिगत विमर्शलाई प्राथमिकता दिनुपर्ने पक्षमा उभिएको छ । अहिले बेमौसममा चलेको नेतृत्वको बहसले पार्टीमा बेमौसमी उछाल ल्याएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएर पार्टीको नेतृत्वमा आउने अभिव्यक्ति दिएपछि एकथरी नेताहरू मदनको नीति विद्याको नेतृत्व भन्दै हिँडेका छन् । ढुङ्गेलले अहिले नेतृत्वका चर्चा बेमौसमको बाजा भएको बताउनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्