काठमाडौं, ३० असार । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देशमा सुशासन दिन नसकेको बताउनुभएको छ ।
साेमाबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले वर्तमान सत्ता संयन्त्रमा ‘वैचारिक दरिद्रता’ र ‘नैतिक दिवालियापन’ देखिएको आरोप लगाउनुभयो । उहाँले माओवादी इतिहास बनाएर आएको पार्टी भएको बताउँदै भविष्यको खाका कोर्ने हिम्मत र दूरदृष्टि पनि माओवादीसँग रहेको दाबी गर्नुभयो । ‘जनताको सपना पूरा गर्ने जिम्मेवारी हामीले लिएका छौँ’, उहाँले भन्नुभयो ।
उहाँले गणतन्त्र, संविधान निर्माण, समावेशिता र सामाजिक न्यायको आन्दोलनमा माओवादीको भूमिका निर्णायक रहेको दाबी गर्नुभयो । संविधान कार्यान्वयनका क्रममा उपेक्षित र उत्पीडित समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको उल्लेख गर्दै उहाँले संविधानमा अग्रगामी संशोधन आवश्यकता रहेको स्पष्ट पार्नुभयो । ‘त्यो संशोधनका लागि दुई तिहाइ बहुमत जुटाउने जिम्मा म लिन्छु, यदि सरकारसँग हिम्मत छ भने’, उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले सरकारकै कार्यशैली गणतन्त्रको सम्भावित सङ्कटको कारक भएको दाबी गर्नुभयो । ‘गणतन्त्रमाथि खतरा छ भने त्यो राजावादी शक्ति होइन, सरकारकै प्रवृत्तिबाट हो, सङ्ख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानासाही गाडा कुदाउँदै हुनुहुन्छ, यो बन्द नभए जनताको धैर्यको सीमा टुट्न सक्छ’, उहाँले भन्नुभयो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा सरकारको उदासीनता र असफलता देखिएको बताउँदै उहाँले एक वर्षअघि नै सरकारले ३ सय दिनभित्र रङ्गशाला निर्माण सम्पन्न गर्ने घोषणा गरे पनि आजसम्म फ्लडलाइटसमेत नजोडिएको बताउनुभयो । ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’ भन्दै उहाँले प्रश्न गर्नु भएको थियो । उहाँले राष्ट्रिय गौरवका आयोजनामा पनि यस्तै लापरबाही दोहोरिएको भन्दै योजनाको निरन्तरता र कार्यान्वयनमा सरकार असफल देखिएको टिप्पणी गर्नुभयो ।
सरकारले सत्तालाई बिचौलिया र भ्रष्टाचार संरक्षकहरूको गोटी बनाएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले सरुवा, नियुक्ति, र सिफारिस प्रक्रियामा खुलेआम आर्थिक लेनदेन भइरहेको दाबी गर्नुभयो । ‘तपाईँका मन्त्री खुल्लमखुल्ला लाखौँको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’ उहाँले भन्नुभयो ।
उहाँले ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने प्रधानमन्त्रीको अघिल्ला अभिव्यक्ति अब जाली साबित भएको भन्दै सरकार आफैँ बिचौलियाको स्वार्थमा अल्झिएको आरोप लगाउनुभयो । ‘गत वर्षमै मैले भनेको थिएँ- यो सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको हो, आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म व्यस्त हुनुहुन्छ’, उहाँले भन्नुभयो ।
दाहालले जनजीविकाका सवाल, सामाजिक न्याय, र समावेशी संविधान कार्यान्वयनजस्ता विषयमा सरकार असफल भएको आरोप लगाउनुभयो । उहाँले सत्ताले एउटै मुद्दामा आफ्नालाई उन्मुक्ति र विपक्षीलाई प्रतिशोधको सिकार बनाएको उल्लेख गर्दै भन्नुभयो, ‘सरकारले एउटै विषयमा आफ्नालाई जोगाउने र प्रतिपक्षीलाई कारबाही गर्ने अभ्यासमार्फत विश्व रेकर्ड नै राख्नुभएको छ ।’
दाहालले वर्तमान सरकारप्रति सत्तारूढ दलका नेता तथा कार्यकर्तासमेत सन्तुष्ट नरहेका र सरकारको कामले कांग्रेस, एमालेकै कार्यकर्ता खुसी बन्न नसकेका बताउनुभयो । राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका उहाँको भनाइ छ। सरकारसँग शिक्षक, राष्ट्रसेवक कर्मचारी, चिकित्सक, सहकारी पीडित सबै असन्तुष्ट रहेका उहाँले सुनाउनुभयो ।
उहाँले सरकारको गतिविधिबाट न त जनविश्वास कायम भएको न त नीति र नेतृत्वमा नैतिकता देखिएको भन्दै प्रधानमन्त्रीप्रति गम्भीर प्रश्न उठाउनुभयो । ‘यो एक वर्षमा तपाईँले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्