जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १९:१५

डाक्टर केसीले तोडे अनसन, यस्तो दिए कारण


काठमाडौं, कात्तिक २६ । डडेल्धुरामा अनसनरत प्राडा गोविन्द केसीले राष्ट्रियता अप्ठेरो अवस्थामा परेको जनाउँदै सत्रौं चरणको अनसन स्थगित गर्नुभएको छ । केसीले सीमा रक्षा गर्नु सबै नागरिकको पहिलो शर्त भएको भन्दै त्यसका लागि अनसन स्थगित गरेको बताउनु भएको हो ।

अनसनस्थलमै आज पत्रकार सम्मेलन गरी डा. केसीले डडेलधुरा अमरगढीकी चार वर्षीया श्रीनास जैरुका हातबाट जुस पिएर नवौं दिनमा अनसन स्थगित गर्नुभयो । सोमबार मात्र डाक्टर केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो । उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै डडेल्धुरा अस्पतालले अन्यत्रै स्थानान्तरण गर्न आग्रह गरेपछि हेलिकोप्टर गएको थियो । तर डाक्टर केसीले काठमाडौं नफर्कने अडान राख्नुभएको थियो । यसपछि नेपालगञ्जबाट मंगलबार थप मेडिकल टोली डडेल्धुरा पुगेको थियो । केसीले पत्रकार सम्मेलन गरेर देशको अवस्थालाई मध्यनजर गर्दै अनसन स्थगित गरेको बताउनु भयो ।

‘भारतले नयाँ नक्सामा लिम्पियाधुरासमेत समेटेर जारी गरेको मैले सुनेको छु, सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो, म पनि अन्य आम नागरिक भित्र पर्दछु,’ केसीले भन्नुभयो, ‘सबल रुपमा आत्मसम्मानपूर्वक बाँच्न पाउनु आम नागरिकको सबै नागरिकको अधिकार हो । सहज जिवीकाका लागि गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध हुनु पर्ने नागरिकको अधिकार हो ।’ डाक्टर केसीले यसका साथै विना भेदभाव सबै नागरिकले बाँच्न पाउने अधिकारको ग्योरन्टी सरकारले गर्नुपर्ने माग गर्नुभयो ।

‘सत्तामा हुनेहरुले राष्ट्रियतालाई भ्रममा पारेर कर्तव्यच्यूत हुने, गलत कार्य गर्ने र अभिव्यक्ति स्वतन्त्रता दमन गर्ने कार्य गरेमा स्वीकार्य हुने छैन,’ डाक्टर केसीले भन्नुभयो, ‘राजनीतिक दलहरुका बीचमा देखिएको एकता देखावटी मात्र नहोस, सिमा विवाद समाधान गर्न कुटनीतिक पहल सार्थक होस ।’ डाक्टर केसीले आफ्नो अनसन स्थगित भएको पुनः सम्झाउँदै पुन कुनै समयमा बस्न सक्ने बताउनु भयो । ‘मेडिकल कलेजको ठगीका अभियुक्तलाई न्यायिक कठघरामा ल्याउने कुरामा कमी नहोस,’ केसीले भन्नुभयो, ‘स्वास्थ्य र चिकित्सा शिक्षाका विकृतिमाथिको मेरो लडाईं जारी छ ।’