भक्तपुर, ३१ असार । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका स्थित १४ रोपनी ४ आना जग्गाको मोही नाममा प्रमाण पुर्जा बनाउने प्रयोजनमा रु. २४ लाख ५० हजार घुस मागिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले मंगलबार मालपोत कार्यालयका प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
आयोगले दिएको जानकारीअनुसार, जग्गाको मोही तथा तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा उक्त रकम मागिएको सूचना प्राप्त भएपछि टोली खटिएको थियो। टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य, भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई भक्तपुरस्थित मालपोत कार्यालयको परिसरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। प्रमुख आचार्यको साथबाट दुई थान मोबाइल, नायब सुब्बा अधिकारीको साथबाट एक थान मोबाइल र कार्यालय सहयोगी राउतको साथबाट पनि एक थान मोबाइल बरामद गरिएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, पक्राउ परेकाहरूमाथि हाल थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयहरूमा हुने घुस प्रकरणविरुद्ध सक्रियता बढाउँदै आएको सन्दर्भमा मालपोत कार्यालयजस्तो सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने निकायबाट ठूलो परिमाणको रकमसहित कर्मचारी पक्राउ परेको यो घटनालाई गम्भीर रूपमा लिइएको छ।













प्रतिक्रिया दिनुहोस्