काठमाडौं, असार ३२ । अमेरिकाले थप १९ जना नेपालीलाई डिपोर्ट गरेको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार जेठ २५ गते ३७ जना नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एक–दुई जना नेपाली अमेरिकाबाट डिपोर्ट भएर आइरहेका छन् ।
पहिला अमेरिकाले चार्टर्ड विमानमै पठाएको भएपनि अव नियमितजसो एक–दुई जना नेपाली नियमित उडानमार्फत पठाएको हो । रिजालले त्यसपछिको अवधिमा १९ जना डिपोर्ट भएर आइसकेको विवरण विभागसँग रहेको बताउनु भयो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् । नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु रहेका छन । अध्यागमन विभागका अनुसार, ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुनेको संख्या १९७ पुगिसकेको छ ।
डिपोर्ट भएर आएकाहरुले आफूहरुलाई अवैध रुपमा अमेरिका पठाउने गिरोहबारे सूचना दिन्छन् कि भन्ने हिसाबले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमै सोधपुछ गरेको थियो । तर, ३७ जनाले नै प्रहरी कहाँ कुनै किसिमको सूचना दिएनन् । भोलिपल्ट आउने भन्दै राति छुटेका उनीहरुले प्रहरीलाई सम्पर्कसमेत गरेनन् ।
प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये अवैध बाटोबाट अमेरिका पुगेकाहरुले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए । मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उनीहरुलाई उत्तरी अमेरिका लगेका थिए ।













प्रतिक्रिया दिनुहोस्