जनता टाइम्स

१ श्रावण २०८२, बिहीबार १३:४०

सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउने दिशा तिर अगाडि बढ्याे : प्रचण्ड


काठमाडौं, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले संकटकाे घडीमा रहेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित श्रम उत्पादनमा वाइसिएल अभियान शुभारम्भ कार्यक्रममा बोल्दै दाहालले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले देश अहिले जटिल मोडमा पुगेको बताउनुभयो । ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन, सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउने दिशा तिर अगाडि बढेको छ’, उहाँले भन्नुभयो ।

उहाँले वर्तमान सरकारकै कारण देश असफलताको दिशातर्फ उन्मुख भएको आरोप लगाउनुभयो।  प्रचण्डले परिवर्तन विरोधी शक्तिहरूको सञ्जाल फेरि सक्रिय हुन थालेको उल्लेख गर्दै त्यस विरुद्ध युवालाई संगठित गर्नुपर्ने बताउनुभयो । युवालाई श्रम र उत्पादनसँग जोडेर जनतासँगको सम्बन्ध बलियो बनाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा लाग्न  उहाँले आह्वान गर्नुभयो ।

सरकारले आफूहरूबाट पटक–पटक खबरदारी गर्दा पनि भ्रष्टाचार रोक्न नसकेको भन्दै उहाँले जनभावना विपरीत कार्य गरे सडकबाटै प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो । युवाको साथ  सहयोगले मात्र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण र समाजवादको आधार निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।