जनता टाइम्स

१ श्रावण २०८२, बिहीबार २०:१७

पूर्वाधार विकास कार्यालय रामेछापका हाकिम ढोका थुनेर फेसबुक चलाउने : सेवाग्राहीलाई थर्काउने, पत्रकारलाई धम्क्याउने 


रामेछाप, १ साउन । कार्यालय समयमा नागरिकलाई सेवा दिनु सरकारी कर्मचारीको प्रमुख जिम्मेवारी हो । नागरिकका समस्या बुझ्ने र समस्या समाधानको लागि प्रयत्न गर्नु हरेक कार्यालयका प्रमुखहरूको जिम्मेवारी नै हो ।

कार्यालय प्रमुखले समस्या बल्झाउन होइन, समस्या समाधानको लागि काम गर्नुपर्दछ । यो उहाँहरूको दायित्व नै हो । तर पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्रप्रसाद पुन भने नागरिकका समस्या बुझ्ने र समस्या समाधान गर्ने काममा होइन सेवाग्राहीलाई थर्काउने र पत्रकारहरूलाई समेत धम्क्याउने कार्यमा लाग्नु भएको छ ।

जिल्लामा पूर्वाधारको सबैभन्दा बढी काम गर्ने जिम्मेवारी पाएको सो कार्यालय मार्फत भएका कामको गुणस्तरीयताको बारेमा बारम्बार प्रश्न उठ्ने गरेको छ । निर्माण व्यवसायीसँग मिलेमतो गरी निर्माणको काममा ढिलाइ गरेको, सम्झौता अनुसार निर्माण व्यवसायीले गर्नुपर्ने काम समयमा सम्पादन गराउने भन्दा पनि व्यवसायीसँग आर्थिक विषयमा बार्गेनिङ गरी म्याद थप गर्दै जाने गरेको, मिलेमतोमा गुणस्तरहीन कामलाई पनि पास गरिदिने आरोप खेपिरहेका सो कार्यालय प्रमुख पुन त्यसलाई ढाकछोप गर्न आफूलाई सबै विषयका ज्ञाता ठान्ने गर्नुहुन्छ ।

कार्यालय प्रमुख पुनः नागरिकसँग होइन, काम नगर्ने व्यवसायीसँग रातदिन उठबस गर्नुहुन्छ । अन्य सरकारी कार्यालय भन्दा अलग सानी मदाैमा रहेको कार्यालयको एकान्तपन पुनलाई डिल गर्ने उपयुक्त थलो बनेको छ ।

सो कार्यालय मार्फत भएको कामको गुणस्तरको बारेमा नागरिकबाट बारम्बार गुनासो आएपछि कार्यालयले दुई वर्ष भित्र गरेका कामको विवरण माग्न बिहीबार कार्यालयमा पुगेका रामेछापका पत्रकालाई पनि पुनले आफ्नो असली व्यवहार देखाउनुभयो ।

कार्यालय प्रमुखको कोठामा कार्यालय समयमा कर्मचारीको पोसाक समेत नलाई ढोका लगाएर बसेका प्रमुख पुनले कार्यालयमा सूचना लिन सूचना अधिकारीको कार्यकक्षमा पत्रकारहरू पुगेपछि सूचना अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाई विशेष निर्देशन दिएर पठाउनु भएको थियो ।

त्यस पछि कार्यालय प्रमुखकै कोठामा पत्रकारहरू प्रवेश गर्दा उहाँ मोबाइलमा फेसबुक चलाउन व्यस्त हुनुन्थ्यो । पत्रकारले नमस्कार गर्दा समेत उहाँलाई नमस्कार फर्काउन फुर्सद थिएन । सोही विषयमा पत्रकारसँग उहाँको केही बेर विवाद भएको थियो । सो क्रममा मोबाइल चलाउँदै नमस्कार फर्काउने आफ्नो फरक तरिका भएको भन्दै उहाँले पत्रकारहरूलाई आचरण नभएका आरोप लगाउनुभयो ।

त्यति मात्र होइन पत्रकारहरूलाई माग्नेको संज्ञा दिँदै उहाँले सूचना र विज्ञापन नछापी १५ हजारको विज्ञापन लिएर आउने तपाईँहरू जस्तै पत्रकार होइन भन्दै पत्रकारहरूलाई धम्याउनुभयो । उहाँसँग उहाँको कार्यकक्षमा भइरहेको संवादको फोटो र भिडियो खिचिरहेका पत्रकारहरूलाई समेत आचरण नभएका भन्दै उहाँले धम्क्याउनुभयो ।

पत्रकारहरूले आफूहरूले नेपाली नागरिकको हिसाबले वृहत् अध्ययन र कार्यालयबाट भएका काम, खर्चको विवरण तथा रामेछापमा नै नआउने पत्रिकामा टेण्डर आह्वान गरेको सूचना प्रकाशित गर्नुको कारण लगायत खुलाएर सूचना दिन माग गरेका थिए । सुरुमा निवेदन दर्ता  गर्न आनकानि गरेका पुनले पछि निवेदन दर्ता गराउन लगाएर ऐनले तोकेको समय भित्र सूचना उपलब्ध गराउने बताउनुभयो ।

कार्यालय समयमा कर्मचारीको पोसाक नलगाई बसेका पुनले आफ्नो कार्यालय भित्र आफ्नो मर्जी हुने भन्दै पत्रकारहरूले जे गर्न सक्नु हुन्छ गर्नुस् भन्दै धम्की दिनुभएकाे थियाे । कार्यालय समयमा सकारी कर्मचारीहरूले अनिवार्य रूपमा सरकारले तोकेको कर्मचारी पोसाक लगाउनु पर्ने कानुनी व्यवस्था छ । त्यस बापत सरकारले कर्मचारीहरुलाई पोसाक भत्ता समेत उपलब्ध गराएको छ । तर पुन भने हाफ टी सर्ट लगाएर निजी निवासमा बसे जसरी कार्यालयमा बस्नु भएकाे थियाे ।

सो कार्यालयले गरको कामको विषयलाई लिएर जिल्लाका सरोकारवाला निकायमा पनि उजुरीहरू परेका छन् । कार्यालय प्रमुख पुनको व्यवहारबाट हैरान भएका सेवाग्राहीले उहाँको व्यवहार निन्दनीय भएको बताउँदै आएका छन् ।