जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार ००:०७

विधान संशोधनमा एमालेको तयारी : उमेर हद र कार्यकाल सीमा हटाउने प्रस्ताव, पोलिटब्युरो बैठक आज 


काठमाडौँ, २ साउन । नेकपा एमालेले पार्टी विधानमा उल्लेख गरिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमितता हटाउने तयारी गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकमा उक्त व्यवस्था हटाउने प्रस्तावमाथि छलफल भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

उपाध्यक्ष विष्णु पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको भए पनि बैठकमा छलफलपछि पदाधिकारी सङ्ख्या १५ पुर्‍याउने सहमति भएको छ । त्यस्तै पार्टी केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने उहाँले जानकारी दिनुभयाे । केन्द्रमा स्थायी कमिटी, पाेलीटब्युराे र केन्द्रीय कमिटी गरी तीन तह हुने उहाँले बताउनुभयाे । केन्द्रीय कमिटीकाे एकतिहाइ पाेलिटब्युराे रहने ज्ञवालीले जानकारी दिनुभयाे ।

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सबै सदस्यले धारणा राखेका राख्नु भएको थियो। करिब १० घण्टा लामो बैठकमा अध्यक्ष ओलीले प्रस्तावमा आफ्नो राय राख्नु भएको थियो ।

अब संशोधन प्रस्ताव पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीमा पेश हुनेछ। त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले अनुमोदन गरेपछि मात्र यो व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। विधान महाधिवेशनका प्रतिनिधि दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु नै हुने विधानमै व्यवस्था छ भएकाे ज्ञवालीले स्पष्ट पार्नु भयाे ।

शुक्रबार पार्टीको पोलिटब्युरो बैठक बस्दै छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको पोलिटब्युरो बैठक दिउँसो १ बजेका लागि सारिएको एमालेले जनाएको छ।