जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार ०८:१८

एमाले पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्दै 


काठमाडाैं, २ साउन । नेकपा एमाले पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

यस अघि ललितपुरको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको बैठक  बिहीबार राति अबेरसम्म सचिवालयको ४९ औँ बैठक चलेका कारण शुक्रबारको बैठकको समय केही पर सारिएको हो ।

बिहीबार सम्पन्न सचिवालय बैठकले १५ जना पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी गठनको प्रस्ताव पारित गरेको थियो। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको थियो। सो छलफलमा ७० वर्ष उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा सम्बन्धी प्रावधान आगामी कार्यकालमा लागू नहुने सहमति कायम भएको बताइएको छ।

शुक्रबार बस्ने पोलिटब्युरो बैठकमा पनि विधान संशोधन तथा संगठनात्मक प्रस्तावहरूबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे। साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी जिम्मेवारी दिने कि नदिने भन्ने विषयमा बिहीबारको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको र पोलिटब्युरो बैठकमा पनि यो विषय उठ्न सक्ने बताइएको छ ।

एमालेको नयाँ कार्यकाल, विधान संशोधन, पदाधिकारी, पोलिटब्युरो विस्तार लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा नेतृत्वले आगामी महाधिवेशन र सांगठनिक रणनीति पनि प्रस्तुत गर्ने तयारी गरेको छ। पोलिटब्युरो बैठक सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्ने छ । केन्द्री कमिटी बैठकले पनि ती  विषय पास गरेपछि विधान अधिवेशनमा छलफलका लागि ती एजेण्डाले प्रवेश पाउने छन् ।