जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार ११:२२

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनु समाजवादको आधार निर्माणतर्फ अग्रसर हुने निर्णय : माधव ढुङ्गेल


काठमाडौं, २ साउन । नेकपा एमालेका संगठन विभाग सचिव तथा केन्द्रीय सदस्य माधव ढुङ्गेलले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने  सरकारको निर्णयले समाजवादको आधार निर्माण गर्ने दिशामा योगदान पुर्‍याउने टिप्पणी गर्नु भएको छ ।

समाजको तल्लो वर्गको पक्षमा गरिएको पछिल्लो निर्णयलाई स्वागत योग्य भन्दै यसले समाजवादको आधार निर्माण गर्ने दिशामा योगदान पुर्‍याउने उहाँको धारणा छ । आजबाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३ सय बाट बढेर  १९ हजार ५ सय ५० रुपैँया पुगेको छ।

यसअघि सञ्चालनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत हालसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्। उक्त कार्यक्रम श्रमिकको भविष्य सुरक्षित गर्नेतर्फ लिएको एक महत्त्वपूर्ण नीति निर्णयका रूपमा लिइएको छ।

“तल्लो वर्गको पक्षमा गरिएको यो निर्णय धेरै धेरै स्वागत योग्य छ, राष्ट्रिय पुँजीको विकास गर्ने र देशको अर्थतन्त्रलाई बलियो बनाएर जनताका आधारभूत आवश्यकतामा राज्यको संरक्षण दिन सकियो भने समाजवादको आधार निर्माण हुन्छ”, ढुङ्गेलको धारणा छ ।

ढुङ्गेलले सामाजिक न्याय र समावेशी आर्थिक विकासको आधार तयार गर्ने नीति तथा निर्णयहरूमा राज्य गम्भीर बन्नु आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।