काठमाडौं, साउन २ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको बिषयमा ‘उचित समयमा उचित निर्णय’ लिने प्रष्ट पारेको छ ।
आजबाट सुरु भएको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो निर्णय सुनाउनु भएको हो । गौतमले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने कुरा गम्भीर भएकाले उचित समयमा उचित निर्णय लिने बैठकलाई जानकारी गराएको जानकारी दिनुभयो ।
‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले परमाधिपति भइसकेको, देशको सर्वोच्च पदमा पुगेको, देशको गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति राजनीतिमा आएर प्रवेश गर्ने एउटा गम्भीर विषय हो । यसलाई पार्टीले उचित समयमा निष्कर्ष निकालेर निर्णय लिन्छ,’ अध्यक्ष ओलीको भनाई उधृत गर्दै प्रचार बिभाग प्रमुख गौतमले भन्नुभयो ।
पार्टीमा कसैलाई पनि बोल्न कुनै बन्देज नलगाइएको भन्दै गौतमले सचिवालयमा व्यापक छलफल गरेर पोलिटब्युरो बैठकमा पनि आफूलाई लागेको सबै कुरा राख्न दिइएको बताउनु भयो । प्रचार प्रमुख गौतमले बिद्या भण्डारीबारे आवश्यक निर्णय केन्द्रीय कमिटीले लिने जानकारी पनि दिनुभयो ।
उहाँका अनुसार आजको बैठकमा ७ नेताले आफ्नो धारणा राखेपछि स्थगित भएको छ । बैठक शनिवार ११ बजे पुनः सुचारु हुनेछ ।













प्रतिक्रिया दिनुहोस्