काठमाडौं, २ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सबल बनाउन लोकतान्त्रिक संस्कृतिको विकास अपरिहार्य भएको बताउनुभएकाे छ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै महासचिव पोखरेलले लोकतान्त्रिक संस्कृति नहुँदा आन्तरिक लोकतन्त्र फस्टाउन नसक्ने स्पष्ट पार्नु भएकाे हाे । ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ, त्यसको अभाव हुँदा आन्तरिक लोकतन्त्र फस्टाउन सक्दैन’, उहाँले भन्नुभयाे ।
पार्टीभित्र पछिल्लो समय देखिएको असहमति, अनुशासनहीन व्यवहारले संगठनको सार्वजनिक छविलाई क्षति पुर्याउने अभ्यासप्रति लक्षित गर्दै पोखरेलले साे स्ट्याटस लेख्नु भएकाे हाे ।
पोखरेलले पार्टीभित्र कुनै मतभिन्नता भए पनि त्यसको समाधान संस्थागत प्रक्रिया र निर्णय प्रणालीबाट खोजिनु पर्ने तर्क गर्दै आउनु भएकाे छ । पार्टीमा कुनै मतभिन्नता छ भने त्यसको टुङ्गो पार्टीको निर्णय प्रक्रियाबाट लगाउनु पर्ने र संस्थागत मर्यादा नमान्ने व्यवहार स्वीकार्य नहुने स्पष्ट पार्दै आउनु भएकाे छ ।
उहाँले पछिल्लो समय पार्टीभित्र देखिएको व्यक्तिगत प्रस्तुतिलाई अराजकताकाे संज्ञा दिनुभएकाे छ। पार्टीको सार्वजनिक छविलाई बिगार्ने कार्य संगठनको स्वाभाविक जीवनमा स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नु भएकाे छ ।
उनको भनाइमा लोकतान्त्रिक संस्कृति भनेको केवल बैठकमा मत दिने प्रक्रिया मात्र नभई अनुशासन, सहमतिमा आधारित निर्णय, र सार्वजनिक जिम्मेवारीसँग गाँसिएको संस्कार भएकाे उहाँले बताउँदै आउनु भएकाे ५ । पोखरेलले सुदृढ संगठन निर्माणका लागि वैचारिक स्पष्टता, सामूहिक निर्णय प्रक्रिया, र आन्तरिक अनुशासनलाई अपरिहार्य सर्तको रूपमा प्रस्तुत गर्नु भएकाे ५ ।
एमालेभित्र पछिल्ला दिनमा देखिएको विधान विवाद, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र त्यससम्बन्धी बहस, केही नेताहरूको सामाजिक सञ्जालमार्फत सार्वजनिक असहमति अभिव्यक्त गर्नेजस्ता गतिविधिहरूको पृष्ठभूमिमा महासचिव पोखरेलको यो अभिव्यक्ति आएको हो। पोखरेलको स्ट्याटसमा प्रत्यक्ष रूपमा कुनै नाम उल्लेख नगर्नु भए पनि आफैँ निर्णय प्रक्रियामा सहभाग हुने तर बाहिर निस्किएपछि थाहा छैन भन्नलाई याे स्ट्याटसले संकेत गरेकाे बुझ्न सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्