काठमाडौं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेशको विषयमा केन्द्रित भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण नै नभएको बताउनुभएको छ ।
पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘उहाँ (विद्या भण्डारी)को पार्टी सदस्यता नवीकरण भएको छैन, सदस्यताको निर्णय कमिटीले गर्छ।’ उहाँले भण्डारीको सदस्यताका विषयमा विधिसम्मत छलफल गरेर निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो, यो मेरो व्यक्तिगत धारणा हो।’ अध्यक्ष ओलीले कसैले उचालेका भरमा पूर्वराष्ट्रपतिले राजनीतिमा आउनु नहुनेसमेत बताउनुभयो। उहाँले भन्नुभयो ‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनुहुँदैन। उहाँप्रतिको विश्वासको कुरा हुन्छ।’
पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रपत्रिकाबाट थाहा भएको समेत अध्यक्ष ओलीले बताउनुभयो । ‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो, अहिलेको संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो’, उहाँले भन्नुभयो। उहाँले पार्टीविरुद्ध बाहिर र भित्र ठूलो हमला भइरहेको बताउनुभयो उहाँले भन्नुभयो , पार्टीविरुद्ध ठूलो संगठित हमला भइरहेको छ। त्यही बेला पार्टीभित्रबाट भएका हमला रोकिनुपर्छ।’
उहाँले पार्टीभित्र भइरहेका अराजकता रोकिनुपर्ने र नरोकिए पार्टीले रोक्नेसम्मको चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ।’ अध्यक्ष ओलीले पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुने बताउनुभयो । उहाँले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बेला बाहिर गएर बोल्ने कुरा उचित नहुने दोहोराउनुभयो ।
संयम भएर बोल्न चेतावनी
पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले जालझेलपूर्ण रुपमा विधान छापिएको आरोप लगाउनुभयो । बैठकमा थापाले भनेका भन्नुभएको थियो ,‘विधानमा उमेर हदलगायत व्यवस्थाबारे पार्टीले गरेका निर्णयभन्दा प्रतिकूल हुने गरी दस्तावेज छापिएको छ, यो सच्चिनुपर्छ। पार्टीमा बृहत् छलफलबाट जुन विधि पारित भयो, त्यो नै पार्टीको निर्णय हो, फेरबदल गर्ने काम कहाँबाट भयो, अनुसन्धान गरी गर्नेलाई कारबाही हुनुपर्छ।’ तर, अध्यक्ष ओलीले भन्नसभयो विधान प्रकाशन कुनै जालझेल नभएको भन्दै संयम भएर बोल्न थापालाई चेतावनी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष पद हट्यो
अब एमालेको केन्द्रमा तीनवटा संरचना हुनेछन्। बैठकले सचिवालयको व्यवस्था हटाउने भएको छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह मात्रै राख्ने भएको छ। राष्ट्रिय महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ समेत केन्द्रीय कमिटीको संख्या २ सय ५१ मा झार्ने भएको छ। वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ।
वरिष्ठ उपाध्यक्षको सट्टा पहिलो वरीयताको उपाध्यक्ष बन्ने उल्लेख गरिएको छ। पदाधिकारी १५ सदस्यीय बनाउने निर्णय पनि गरेको छ। हाल केन्द्रीय कमिटी ३०१ सदस्यीय छ भने पदाधिकारीको संख्या १९ छ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य हुनेछन्। केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने वा अनिर्वाचित व्यक्ति कार्यकारी कमिटीको दोस्रो वरीयताका पदाधिकारी हुने लोकतान्त्रिक प्रणालीको मर्मविपरीत हुने भन्दै हटाइएको छ।
पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरूमध्येबाट बढीमा एकतिहाइ सदस्य रहने गरी पोलिटब्युरोको निर्वाचन गर्ने व्यवस्था गरिएको छ। अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहने गरी स्थायी समिति गठन गरिने छ। अर्थात् १५ सदस्यीय स्थायी समिति हुने छ। कमिटीका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम पनि तोकिने छ।
बिहीबार १० घण्टा सचिवालय बैठक चलेको थियो। बैठकमा विधान संशोधनको विषयमा लामो बहस भएको छ। सचिवालय बैठकले दुई कार्यकालको हदम्याद र ७० वर्षे उमेर हद हटाउन प्रस्ताव पास गरेको छ। अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नोकझोकसमेत भएको थियो। उता शुक्रबारको पोलिटब्युरो बैठक जारी छ। शनिबार बिहान ११ बजेदेखि पुनः पोलिटब्यरो बैठक सञ्चालन हुनेछ। साउन ५ मा केन्द्रीय कमिटी र भदौ २० देखि विधान महाधिवेशन हुनेछ













प्रतिक्रिया दिनुहोस्