जनता टाइम्स

३ श्रावण २०८२, शनिबार ११:५९

एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, नेताहरुले धारणा राख्दै


काठमाडौं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन पनि च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ।

पार्टीको विधान महाधिवेशनलाई लक्षित गरी सुरु गरिएको बैठकमा नेताहरूले प्रस्तुत गरिने प्रतिवेदनमाथि धारणा राख्ने क्रम चलिरहेको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा नेताहरू विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदनका विभिन्न पक्षबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। हिजोबाट सुरु भएको बैठकमा  नेताहरूले आफ्नो धारणा राखिरहनु भएको छ।

पोलिटब्युरो बैठकपछि यही साउन ५ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय गरिएको छ। उक्त बैठकले विधान महाधिवेशनमा पेस गरिने दस्ताबेजलाई अन्तिम रूप दिनेछ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने तय भएको छ।

विधान महाधिवेशनअघि पार्टीभित्र उमेर हद र दुई कार्यकालको सीमा सम्बन्धी बहस चलिरहेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियतासँगै उक्त विषयमा  बहसमा आएको हो । यद्यपि, एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि मार्गप्रशस्त गर्ने गरी उमेर र कार्यकाल सम्बन्धी सिमाङ्कन हटाउने निर्णय गरिसकेको छ।

अब पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले प्रतिवेदनलाई अनुमोदन गरी गोदावरी महाधिवेशनमा टुङ्गो लगाउने तयारी एमालेले गरेको छ। विधान, सङ्गठनात्मक ढाँचा, नीति तथा नेतृत्व व्यवस्थापनको ढाँचाबारे महत्त्वपूर्ण निर्णय सो महाधिवेशनबाट हुने  छ ।