काठमाडौं, साउन ३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भेटबारे गम्भीर प्रश्न उठाउनु भएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा शनिबार आफ्नो धारणा राख्दै बस्नेतले वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलाएको भन्दै कडा प्रश्न गर्नुभएको हो । बस्नेतले अध्यक्ष केपी ओली नै फेरि अध्यक्ष हुने निर्णय यसअघि नै पार्टीले गरिसकेको तथ्यसमेत स्मरण गराउँदै निर्णयबिरुद्ध कोही जान नहुनेमा जोड दिनुभएको छ ।
‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन भनेर अमरेश सिंहले भन्ने । चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन, घुस्न दिनु हुन्न । अन्तिम निर्णय हाम्रो पार्टीको संगठनभित्रैबाट मात्रै हुन्छ’, नेता बस्नेतले भन्नुभयो ।
उहाँले एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइल्याउने रोग बढेको पनि बताउनु भयो । जतिसुकै असक्षमको ट्याग लागे पनि परिभाषित काममा आफ्नो क्षमता प्रदर्शन गर्न तयार रहेको बस्नेतले उल्लेख गरे । हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने बस्नेतको भनाइ छ ।
उहाँले स्थायी कमिटीको संख्या २५ पुर्याउने, उपत्यका विशेष कमिटी गठन गर्ने, प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटी विस्तार गर्ने र तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने प्रस्ताव पनि गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्