जनता टाइम्स

३ श्रावण २०८२, शनिबार २०:३८

विद्या भण्डारीको सदस्यता नविकरण रोकियो, पोलिटब्यूरो बैठकले गर्यो पेन्डिङमा राख्ने निर्णय


काठमाडौं, साउन ३ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङ ङमा राख्ने निर्णय गरेको छ । आज सम्पन्न पोलिटब्यूरो बैठकले यस्तो निर्णय गरेको हो ।

राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा पोलिटब्यूरो बैठकमा सदयहरुले दिएको सुझावको आधारमा यस्तो निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । शुक्रबार र शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको थियो ।

‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौँ भन्नुभएको छ’, गौतमले भन्नुभयो ।

भण्डारीको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा रहेको गौतमको भनाई छ । पोलिटब्यूरोले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुन नमिल्ने ठहरसहित नविकरण भइसकेको सदस्यतालाई रोकेको हो ।

एमालेको पोलिटब्यूरोमा अधिकांश नेताहरुले पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा फर्कन कानूनले नरोके पनि गणतन्त्रमाथि नै प्रश्न उठ्ने भन्दै रोक्न माग गरेका थिए । बहुमत नेताहरु सदस्यता नविकरण गर्न नमिल्ने लाइनमा उभिएपछि रोक्का राखिएको गौतमको भनाई छ ।

‘सम्मानीय पूर्वराष्ट्रपतिलाई विधानमै ब्यारिएर खडा गरेर रोक्न खोजेको होइन, गणतन्त्रको विषय भएको हुनाले नविकरण गर्न नहुने पक्षमा उभिएको हो । विद्या भण्डारी भन्दा पनि गणतन्त्रसँग जोडिएको विषय भएकोले स्थगन भएको हो । यसकारण अब सदस्यता नविकरण भएको भन्ने बिगतको कुरा खारेज भइसकेको छ,’ गौतमले भन्नुभयो ।

पोलिटब्यूरोको यो निर्णयसँगै पर्वराष्ट्रपति भण्डारी एमालेमा सक्रिय हुने विषयमा च्याप्टर क्लोज भएको बुझाई पोलिटब्यूरो सदस्यहरुको रहेको छ ।