काठमाडौं, ३ साउन। नेकपा एमालेको पोलिटब्युरो बैठक आज उत्साहपूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभएको छ।
बैठकमा सहभागी ६६ जना पोलिटब्युरो सदस्यहरूले केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावलाई आधारभूत रूपमा समर्थन जनाउनुका साथै विविध विषयमा महत्त्वपूर्ण सुझाव, टिप्पणी र धारणा व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । बैठकका बारेमा जानकारी दिँदै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘पोलिटब्युरोको चौथो बैठक आज सफलतापूर्वक र उत्साहका साथ सम्पन्न भयो, बैठकमा बोल्ने ६६ जना नेताहरूले केन्द्रीय सचिवालयबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई आधारभूत रूपमा समर्थन गर्दै विभिन्न विषयमा महत्त्वपूर्ण सुझाव, टिप्पणी र आफ्ना राय प्रस्तुत गर्नुभयो।’
उहाँका अनुसार बैठकमा अध्यक्ष केपी ओलीले पार्टी जीवनको लोकतान्त्रीकरणलाई सुविधा अनुसार खास बुँदामा होइन, समष्टिमा बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो। उहाँले पार्टीको सुदृढ एकता र त्यसको बलमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्नु आफ्नो एक मात्र उद्देश्य रहेको बताउनुभएको उल्लेख उहाँले गर्नुभएको छ।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा केही सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा विगत केही दिनदेखि भइरहेको भ्रामक प्रचारलाई खारेज गरेको छ। उहाँले लेख्नुभएको छ, ‘विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा केही सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा विगत केही दिनदेखि भइरहेको भ्रामक प्रचारलाई बैठकले खारेज गरेको छ, यस बैठकलाई ‘कट अफ बैठक’ का रूपमा लिने र अब सिङ्गो पार्टी भावनात्मक एकताका साथ अगाडि बढ्ने सङ्कल्प पनि बैठकले गरेको छ ।’
बैठकमा प्रस्तुत विधान संशोधन प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ। पोलिटब्युरोमा उठेका सुझाव, सल्लाह र धारणा अनुसार प्रस्तावमा आवश्यक परिमार्जन गरी केन्द्रीय कमिटीमा लगिने र त्यहाँबाट पास भएपछि विधान महाधिवेशनमा लगिने भएको छ ।













प्रतिक्रिया दिनुहोस्