रामेछाप, ४ साउन । रामेछापमा रहेको पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्रप्रसाद पुन ढोका थुनेर कार्यालयमा मस्त हुँदा सो कार्यालय मार्फत निर्माण हुनुपर्ने सडकहरू भने अस्तव्यस्त भएका छन् ।
सो कार्यालय मार्फत निर्माण भइरहेका मन्थली– पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक, खिम्ती–रस्नालु–ठोसे सडक लगायतका जिल्लाका अति महत्वका सडकहरू तथा पक्की पुलको निर्माण अलपत्र अवस्थामा छ । जसले गर्दा नागरिकले सास्ती खेपिरहेका छन् ।
सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक पिच गर्नुपर्न पछिल्लो तोकिएको म्याद गएको असोज मसान्तसम्म रहेको थियो । निर्माण व्यवसायीले काम नगरेपछि स्थानीयले कार्यालयमा नै ताला लगाइदिएका थिए । कार्यालयमा ताला लागेपछि निर्माण व्यवसायी र जिल्ला पूर्वाधार विकास कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता जनाएपछि कुनै काम अघि बढेको छैन । काम अघि बढाउन कार्यालय कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।
त्यस्तै मन्थली– पकरबास–गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास– गाल्पा सडकको पिच गर्ने अन्तिम म्याद एक वर्ष अघिकै असार मसान्तसम्म मात्र थियो । सो सडक निर्माणको अन्तिम म्याद सकिएको एक वर्ष बित्दा पनि पिचको काम हुन सकेको छैन । सडकमा ३ दिन भित्रै सबबेस बिछ्याउने कार्य अगाडी बढाउने, जनशक्ति बढाएर ड्रेनको बाँकी काम छिटो सम्पन्न गराउने तथा सडक पिचको कामलाई पनि अघि बढाउने सहमति कार्यालय, निर्माण व्यवसायी र स्थानीय बिच भएको थियो । सो सडकको पकरबास सिकारीडाँडादेवी गाउँपालिकाको भवन माकादुमको घ्याङसिङ डाँडासम्म बेस राखेर बिटुमिन हाल्ने काम भएको छ । सो ठाउँको पिच गएको आर्थिक वर्षमा पनि भएन । बाँकी काम त अघि नै बढेको छैन ।

ती दुईवटा सडकको काम निर्धारित समयमा सम्पन्न नभएको भन्दै गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा जनप्रतिनिधि र स्थानीयको टोलीले २०८१ सालको जेठ ८ गते पूर्वाधार विकास कार्यालय मन्थलीमा ताला नै लगाइदिएको थियो । तर काम अघि बढाउने कुरामा कार्यालयले कुनै पहल कदमी नलिएको स्थानीयको गुनासो छ ।
कूल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक खण्डको कालोपत्रे गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैँयामा लिएको थियो । त्यस्तै ७.५ किलोमिटर लामो गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैँयामा रौताहा सगुन र पाँच पोखरी कन्ट्रक्सनले लिएको थियो । दुवै सडक १८ महिना भित्र काम पुरा गर्ने गरी २०७८ सलमा ठेक्का सम्झौता भएका थिए । १८ महिनामा पुरा गर्ने गरी लागेको ठेक्काको काम ४ वर्षमा सम्पन्न नहुँदा पनि कार्यालय कानमा तेल हालेर बसेको छ ।

सो सडक हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे अवस्थामा छाडेकोले सवारी साधनमा यात्रा गर्दा दुर्घटना समेत हुन सक्ने विषयमा गम्भीर हुन स्थानीयले अनुरोध गरेका छन् । काम जिम्मा लिएर पटक पटक म्याद थप गर्दा पनि काम नगर्ने दुवै सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी र निर्माणव्यवसायीसँग मिलेमतो गरी काम अघि बढाउ चासो नदिने कार्यालय प्रमुख दुवैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग स्थानीयको छ ।
उता सोही कार्यालय मार्फत निर्माण भइरहेको खिम्ति–रस्नालु–ठोसे सडक पनि त्यस्तै लथालिङ्ग छ । सो सडकको काम सम्पन्न नहुँदा रामेछापको उत्तरी क्षेत्रमा जाने यातायात साधनहरू घण्टौँ फस्ने गरेका छन् । सडक निर्माणको काममा ध्यान नदिने, नागरिकलाई झुक्याउने कार्यालय प्रमुखलाई कारबाहीको दायरमा ल्याउनु पर्ने माग गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारको छ ।













प्रतिक्रिया दिनुहोस्