जनता टाइम्स

४ श्रावण २०८२, आईतवार १३:०६

शीतलनिवासको यात्रापछि पहिलो पटक एमाले मुख्यालय जाँदै पूर्वराष्ट्रपति भण्डारी, अध्यक्ष ओलीसँग वार्ताको समय तय


काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता तय भएको छ । पोलिटब्युरो बैठक समापन भएको भोलिपल्ट आज दिउसो उहाँहरुबीच भेटवार्ताको समय तय भएको हो ।

पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउसो३ बजे पार्टी कार्यालयमा भेटवार्ताको समय तय भएको हो । पूर्वराष्ट्रपति भण्डारी शीतलनिवासको यात्रामा जानुभएपछि आज पहिलो पटक अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग भेट गर्न एमाले मुख्यालय च्यासल जान लाग्नुभएको हो ।

एमाले पोलिटब्युरो र सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको संगठित सदस्यता नवीकरण नगरी पेन्डिङमा राख्ने निर्णय गरेपछि भण्डारी अध्यक्ष ओलीसँग वार्ताका लागि आज च्यासल जान लाग्नुभएको हो ।

उहाँले गत असार १४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाएर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा पार्टी सदस्यता नवीकरण गरेको भन्दै सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएको थियो । उहाँको सो घोषणापछि गत वर्ष नै नवीकरण भइसकेको सदस्यताबारे छलफल गरी एमालेले पेन्डिङमा राख्ने निर्णय लिएको हो । उहाँहरुबीच आज सो विषयमा खुलस्त कुराकानी हुनेछ ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिक योजनासहित आज पहिलो पटक एमाले मुख्यालय च्यासल जान लाग्नुभएको हो । यसअघि पूर्वराष्ट्रपति भण्डारी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न गएको बेला एमाले मुख्यालय निरीक्षण गर्नुभएको थियो । तर राजनीतिक रूपमा पहिलो पटक आज जान लाग्नुभएको हो ।