काठमाडौं, ४ साउन। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यमको नाममा भइरहेका अराजक गतिविधि नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको जानकारी दिनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले सञ्चारमाध्यमलाई थप मर्यादित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार पत्रकार महासंघले नै पत्रकार आचारसंहिता बनाइसकेको अवस्थामा पनि स्वनियमनको व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त निकाय भए पनि सरकारबाट पूर्णतः अलग हुन नसक्ने धारणा मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।
उहाँले मिडिया काउन्सिललाई सञ्चारमाध्यम नियमन गर्ने अधिकार दिइएकाले सरकारले अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाललाई मर्यादित रूपमा सञ्चालन गर्न छुट्टै ऐन ल्याइएको उहाँले जानकारी दिनुभयो ।
समितिको छलफलका क्रममा विभिन्न सदस्यहरूले गलत समाचार सम्प्रेषण गरेर व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्तिको नियन्त्रणका लागि विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने धारणा राख्नु भयाे ।
समिति सदस्य देवेन्द्र पौडेलले पुष्टि नहुने समाचारमार्फत व्यक्तिको चरित्र हत्या गर्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
चन्द्र भण्डारीले तथ्यपरक नदेखिने समाचारहरू कुन कानुनी दायरामा ल्याउने भन्ने विषय स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।
विद्या भट्टराईले मिडिया काउन्सिलको स्वतन्त्रता र स्वायत्तता कायम राख्दै अनावश्यक हस्तक्षेप नहुने गरी विधेयक तयार गर्नुपर्ने बताउनुभयो ।
सभापति अम्बरबहादुर थापाका अनुसार समितिमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । आगामी बैठकमा संशोधनकर्तासँग छलफल गरिनेछ ।













प्रतिक्रिया दिनुहोस्