जनता टाइम्स

५ श्रावण २०८२, सोमबार ११:२०

पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो


काठमाडौं, साउन ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएको छ । असुली धन्दा चलाउँदा चलाउँदै अडियो बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राजीनामा दिनुभएका गुप्तालाई ’भ्वाइस टेस्ट’ का लागि अख्तियारले बोलाएको हो ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरीउपर विस्तृत छानबिनका क्रममा गुप्तालाई बोलाइएको अख्तियार स्रोतले जनताटाइम्स डटकमलाई बतायो । स्रोतका अनुसार अडियो प्रकरणमा छानविनका लागि अख्तियारले पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताको ’भ्वाइस टेस्ट’ गर्न यही साउन ६ गते मंगलबारका दिन उपस्थित हुन भन्दै बोलाएको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका गुप्ताले बार्गेनिङ गरेको अडियो बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर कानुनी बाटोबाट परीक्षण हुन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले दुई पटक बोलाएरै सचेत गरिसक्दासमेत गुप्ताले पदीय दुरुपयोग गरी बार्गेनिङ गरेको र हरेक काममा असुली धन्दा चलाएको सूचनापछि प्रधानमन्त्री ओलीले सचेत गराउनु भएको थियो । उहाँले दोस्रो पटक सचेत गराएको केही समयमै अडियो बाहिरिएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय पोखराको प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । मन्त्रिपरिषद बैठकलगत्तै बोलाएर राजीनामा नदिए पनि मन्त्री पद गइसकेको बताएपछि पुप्ताले राजीनामा पत्र बुझाउनु भएको थियो ।

गुप्ताले आफूले घुस लेनदेन नगरेको जिकिर गर्दै आउनु भएको छ । अडियो पनि आफ्नो नभएको उहाँको जिकिर छ । तर घरमै पैसा ल्याएर छाडेर गएछन भन्दै अपराध स्वीकार गर्नुभएको छ ।
सो बिषयमा अख्तियारले छानविन अघि बढाएको हो ।

अख्तियारका अख्तियारका एक आयुक्तले जनताटाइम्सलाइ दिएको जानकारीअनुसार पूर्वमन्त्री गुप्ताको बिषयमा अडियोसहित उजुरी परेकाले उहाँको भ्वाइस टेस्ट गर्ने र त्यसपछि थप अनुसन्धान अघि बढाउने जनाएको छ । अख्तियारले प्रारम्भिक छानविनमा अडियो गुप्ताकै रहेको देखिएकोले टेष्टका लागि बोलाएको हो ।