जनता टाइम्स

५ श्रावण २०८२, सोमबार १२:०९

एमाले केन्द्रीय कमिटी बैठक सुरु 


काठमाडौं, ५ साउन ।  नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेर अघि बैठक सुरु भएको हो। पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा विधान महाधिवेशनका लागि तयार गरिएको संशोधित विधानको मस्यौदामाथि छलफल हुने छ। बैठकमा केन्द्रीय सदस्यहरूलाई मस्यौदामाथि धारणा राख्न अधिकतम तीन मिनेटको मात्र समय दिइने भएको छ।

बैठकको सुरुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीति, सरकारको एक वर्षे कार्यकाल र सचिवालय  तथा पोलिटब्युरो बैठकका निर्णयहरूबारे मन्तव्य राख्ने कार्यक्रम रहेको छ। त्यसपछि महासचिवले सांगठनिक अवस्था प्रस्तुत गरेपछि विधान छलफलमा प्रवेश हुने छ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित विधान मस्यौदा बैठकमा प्रस्तुत गर्नुहुनेछ। गौतमका अनुसार आजको बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले बोल्ने छैनन्। ती सदस्यहरू उपल्ला कमिटीहरूमा धारणा राखिसकेकाले बैठकमा करिब २ सय ३० जना केन्द्रीय सदस्यलाई मात्र बोल्न दिइनेछ। ‘प्रत्येक सदस्यलाई तीन मिनेटभन्दा बढी समय दिइँदैन, समयको व्यवस्थापन मिलाउने हिसाबले यो निर्णय गरिएको हो’, गौतमले भन्नुभयो ।

बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यले धारणा राखेमा बैठक पर्सिसम्म लम्बिन सक्ने अनुमान गरिएको छ।