काठमाडौं, ५ साउन । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक आज च्यासलस्थित तुलसीलाल स्मृति भवनको हलमा सुरु भएकाे छ ।
बैठकमा आगामी भदौ २०–२२ गते काठमाडौंमा हुने दोस्रो विधान महाधिवेशनको तयारीका विषयमा केन्द्रित कार्यसूची प्रस्तुत गरिएको छ। बैठकको सुरुवात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदनको अवधारणा तथा समसामयिक विषयमा सम्बोधन गर्नुभएको छ । त्यसपछि विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन, सांगठनिक प्रस्ताव र व्यवस्थापन सम्बन्धी विषयमा छलफल हुनेछ।
पोलिटब्युरोको चौथो बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नुहुनेछ। बैठकले संशोधन प्रस्तावमाथि निर्णय गर्नेछ।

त्यसैगरी महासचिव शंकर पोख्रेलले सांगठनिक प्रस्तावको तयारीबारे जानकारी गराउनुहुनेछ। प्रस्तावमा सदस्यता नवीकरण, प्रतिनिधिमण्डलको क्रियाशीलता मूल्याङ्कन, विशेष जानकारी अभियान र स्थानीय कमिटीहरूको अधिवेशन लगायतका विषय समेटिएका छन्।
विधान महाधिवेशनको व्यवस्थापन तथा तयारीको जिम्मा लिएको केन्द्रीय कार्यालयले व्यवस्थापकीय पक्षबारे आजकाे बैठकमा जानकारी दिनेछ। बैठकमा समसामयिक विषयमा समेत प्रस्ताव प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ। बैठकमा प्रस्तुत प्रस्ताव र छलफलका निष्कर्ष एमालेको विधान महाधिवेशनमा केन्द्रित हुने छ ।














प्रतिक्रिया दिनुहोस्